जीवनशैलीविचारसमाज

सङ्क्रमणको जोखिम बढ्यो, यी कुरामा सावधानी अपनाऔँ

[mashshare]

काठमाण्डाै – कोरोनाबाट बच्न तीनवटा उपाय अवलम्बन गर्नैपर्छ । पहिलो उपाय भनेको भौतिक दूरी कायम गर्नु हो । जरुरी काम नपरेसम्म घरबाट बाहिर निस्कन भएन । यदि बाहिर निस्कनै पर्यो भने दुई मिटरको दूरी कायम गरौँ । मास्क अनिवार्य लगाउनुपर्छ ।

सर्जिकल मास्क उपलब्ध छैन भने तीन तह भएको कपडाको मास्क भए पनि हुन्छ । भौतिक दूरी कायम गर्ने र मास्क लगाउनेबाहेक पटकपटक हात धुने गरौँ ।

यदि कतै जाँदा हात धुने व्यवस्था छैन भने सेनिटाइजर प्रयोग गरौँ । सबै ठाउँमा हात धुने व्यवस्था नहुन पनि सक्ने भएकोले सेनिटाइजर बोकेर हिँड्ने गरौँ । यी तीनवटा कुरामा ध्यान दिन सकियो भने मात्रै पनि कोरोनाबाट बच्न सकिन्छ । यी विधि लागू गर्नका लागि धेरै खर्च पनि लाग्दैन । 

घटनाक्रम हेर्ने हो भने जहाँ भौतिक दूरी कायम गरिएन, त्यहाँ कोरोनाको सङ्क्रमण बढिरहेको छ । ईटालीको कुरा गर्ने हो भने त्यहाँ फुटबल प्रतियोगिता भएको थियो । स्पेनमा वाटर फेस्टिबल भएको थियो । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क प्रयोग नगर्न उर्दी जारी गरेका थिए । बम्बैमा ट्रेन स्टेशनमा लाखौँको संख्यामा भीड लागेको थियो । नेपालमा पनि अहिले विभिन्न कारणले जुलुस र प्रदर्शन भैरहेको छन्  । यी कारणहरुले गर्दा कोरोनाको सङ्क्रमणदर ह्वात्तै बढेको देखाउँछ ।

अझ भनौँ भने जो मान्छे, रेष्टुरेण्टलगायत भीडभाड हुने ठाउँमा मास्क नलाईकन जान्छन्, उनीहरुले परिवारमा कोरोनाको सङ्क्रमण ल्याईरहेका छन् । उनीहरुलाई कोरोनाको सङ्क्रमणले कुनै असर नगरे पनि उनीहरुको सम्पर्कमा रहेका कमजोर व्यक्तिहरु कोरोनाको शिकार बनिरहनुपरिरहेको छ ।

घरमा भएका आफ्ना बा, आमा, हजुरबुबा, हजुरआमा, ससाना बालबच्चाहरुमा उनीहरुले कोरोनाको सङ्क्रमण ल्याएर छाडिदिने गर्छन् । उनीहरुका कारण सुगर, प्रेसर, मिर्गौलाका रोगी लगायत समस्या भएका मानिसहरुको ज्यान गैरहेको घटनाक्रमले देखाएको छ । कोरोनासँग लड्ने मुख्य उपाय भनेकै ‘एसएमएस’ अर्थात सोसल डिस्ट्यान्स, मास्क र सेनिटाइजर हो ।

कार्यलयमा कसरी काम गर्ने ?

मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने र भौतिक दूरी कायम गर्ने कुरा सबै क्षेत्रमा लागू हुन्छ । कार्यलयमा काम गर्दा समय फरक पारेर आधा आधा कर्मचारी बसेर काम गर्नुपर्छ । कार्यलयमा दुई मिटर नै दूरी कायम गर्न अलि गाह्रो हुन सक्छ । त्यस्तो ठाउँमा कम्तिमा पनि १ मिटरको दूरी कायम गर्नुपर्छ । हाच्छ्युँ गर्दा, खोक्दा यो रोग सर्ने भएकोले हात नमिलाउने, मास्क लगाउने गर्नुपर्छ । 

कार्यालयमा काम गर्ने धेरैजसो कर्मचारीले एन ९५ नै मास्क लगाउने गरेको पाईएको छ । यो मास्क लगाउँदा झन असर पर्छ । यसले कार्बनडाईअक्साईड ग्याँस फर्काउने भएकोले सर्जिकल मास्क लगाए पुग्छ । कार्यालय पस्नुभन्दा अगाडि हात धुने व्यवस्था छ भने साबुनपानीले राम्रोसँग हात धोएर काम सुरु गर्नुपर्छ । 

हात धुने व्यवस्था छैन भने सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्छ । हामीले कार्यालयको टेबल, कुर्सीमा छोईरहेका हुन्छौँ । त्यस्तो ठाउँमा छोएको हातले अनुहारमा छुने काम नगरौँ । राज्यको अर्थतन्त्र र जनजीवनलाई सहज बनाउनका लागि पनि कार्यालय सञ्चालन गर्नुपर्ने भएकोले आवश्यक मापदण्ड जसरी पनि मानौँ । कोरोनाको सङ्क्रमणबाट हुनबाट बचौँ ।

हाम्रो बानी नाक, मुख, आँखातिर कन्याउने, छुने लगायत छ । ती संवेदनशील ठाउँमा कन्याउनुपर्यो या छुन मन लाग्यो भने सेनिटाइज गरेर मात्रै त्यतातिर हात लैजानुपर्छ । केही खानेकुरा खान पर्यो भने पनि त्योभन्दा पहिले हातमा सेनिटाईजर लगाउनुपर्छ ।

सबैभन्दा धेरै चुनौती भएको अस्पतालमा के गर्ने ?

अस्पतालमा रोग लागेपछि मात्रै मान्छेहरु पुग्ने गर्छन् । उनीहरुको रोग प्रतिरोधात्मक क्षमता समेत कम रहेको हुन्छ । अस्पतालमा  गएका जो कोहीलाई पनि कोरोनाले थप गराएको हुन सक्छ । अस्पताल क्षेत्रमा हामीले विशेष सावधानी अपनाउन आवश्यक छ । अस्पतालका स्वास्थ्यकर्मीहरु उच्च जोखिममा रहेर काम गरिरहनुपरेको छ । अस्पतालमा जाँदा आवश्यक स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । 

घुईंचो हुने ठाउँका कामहरु डिजिटल प्रविधिमार्फत गरौँ

यो समयमा प्रविधिलाई पनि उपयोग गर्नुपर्ने देखिन्छ । बैंकमा पैसा पठाउन र झिक्न परे बैंकसम्म जानै पर्दैन । बिजुलीको बिल तिर्न विद्युत कार्यलयसम्म धाउनै पर्दैन । टेलिफोन, पानीको पैसा तिर्न घरबाटै सकिन्छ । सामान किन्न समेत ईन्टरनेटको प्रयोग गर्न सकिन्छ । अहिले अनलाइनबाट अर्डर गरियो भने त्यसको केही समयमै सामान घरमै आईपुग्छ । कोरोना चुनौती मात्रै होइन, अवसर पनि हो भनेर हामीले बुझ्नुपर्छ । 

हामीले अहिले जुन तरिकाले काम गरिरहेका छौँ, कामको तरिका परिवर्तन गर्नुपर्ने आवश्यकता छ । अहिलेको युगमा पनि लाइनै लागेर, दुःखै पाएर गर्नुपर्छ भन्ने छैन । अनलाइनमार्फत काम गरियो भने भौतिक दूरी कायम हुन्छ, समयको बचत हुन्छ, शारीरिक परिश्रम पनि हुँदैन । त्यसैले सकेसम्म सूचना एवं प्रविधिको भरपुर सदुपयोग गरी अहिलेको यो संकटलाई अवसरको रुपमा प्रयोग गर्नुपर्छ ।

धेरैले भौतिक दूरी कायम गर्न छाडे किन ?

धेरैले रोगको गाम्भिर्यता नबुझेर भौतिक दुरी नै कायम गर्न छाडेको पाईन्छ । म एउटाले अटेर गरेर के हुन्छ र भन्ने खालको हेलचेक्र्यार्इं बढिरहेको छ । क्यानडामा भौतिक दूरी कायम नगरेको र मास्क नलगाएको पाईए ३ सय क्यानेडियन डलर फाईन तिर्नुपर्छ । नेपालमा पनि यसरी नै कडाई गर्नुपर्ने बेला भैसकेको छ 

झण्डै ६० लाख जनसंख्या भएको काठमाण्डौमा सङ्क्रमण निकै फैलिन थाल्यो भने घर र टोलहरु सखाप हुन सक्छ । त्यस्तो अवस्था नआोस् भनेर नै भौतिक दूरी कायम गर्न सरकारले अनुरोध गरेको हो । 

बजारमा सेवाग्राहीले सामान किन्दा के गर्ने ?

जुन क्षेत्रमा पनि सावधानी हुने सिद्धान्त एउटै छ । सामान किन्ने र बेच्नेबीच कम्तिमा १ मिटरको दूरी कायम गर्नुपर्छ । हामीले देखिएका शतप्रतिशत नै मानिसमा कोरोना छ भनेर बुझ्नुपर्छ । कोरोना परीक्षण गर्दा पनि त्यो व्यक्ति कोरोना सङ्क्रमित नै हो जस्तो गरी काम गरिएको हुन्छ ।

सामग्री किनबेच गर्दा पनि सेवाग्राही र बेच्नेहरुले आवश्यक भौतिक दूरी कायम गर्नुपर्छ । को मान्छेमा कोरोना छ भनेर अनुहार हेरेर थाहा नहुने भएकोले यसमा हामीले विशेष सावधानी अपनाउनुपर्छ ।

आमनेसामने हुँदा मास्क पनि लगाउनुपर्यो । सामान लिँदा र दिँदा कोरोना सरेको रेकर्ड छैन । यति तपाईलाई किनेको सामानमा सङ्क्रमण छ भन्ने शंका लाग्यो भने घरमा लगेर कम्तिमा आधा घण्टाजति छुट्टै राख्नुपर्छ । त्यतिन्जेलसम्म कोरोनाको सङ्क्रमण नै रहेछ भने पनि त्यो नष्ट भैसक्छ । अध्ययनले हाच्छ्युँ गर्दा, खोक्दा र थुकको छिटाबाट मात्रै कोरोना सर्ने बताएको छ । तर सबैजनाले पकेटमा एउटा सेनिटाइजर बोकेर हिँड्नुपर्छ ।

उद्योग कलकारखानामा के गर्ने ?

जो व्यक्ति उद्योगधन्दामा काम गर्न थाल्नुभएको छ, उहाँले आफ्नो शरीरमा सङ्क्रमण हुन नदिन के गर्नुपर्छ भन्ने कुरा थाहा पाउनुपर्छ । उद्योग तथा कलकारखानामा काम गर्ने मान्छे सजग भयो भने उसलाई कोरोना सर्दैन र उसलाई नसरेपछि उसले सङ्क्रमण घरमा लैजाने कुरै भएन । स्वास्थ्यका आधारभूत मापदण्डहरु जे जे छन्, ती कुराहरु अवलम्बन गरेर काम गर्नुपर्छ । आफू सुरक्षित भए आफ्नो घरपरिरवारका सदस्य पनि सुरक्षित हुन्छन् भन्ने कुरा कसैले पनि बिर्सन हुँदैन । यति गरे पुग्छ ।

गाडीमा यात्रा गर्दा के गर्ने ?

गाडीमा बढीमा ३ जना मात्रै यात्रा गर्न भनिएको छ । तर अहिले निजी गाडीमा मान्छेहरु कोचाकोच हिँडिरहेका छन् । हामीले एउटा मापदण्ड बनाएका छौँ । त्यसको कार्यान्वयन स्वास्थ्य मन्त्रालयले गराउने होइन । यातायात र ट्राफिक प्रहरीले त्यसमा कडाई गर्नुपर्छ । गाडीमा यात्रा गर्नेहरुले मनपरी गरेको विषयमा हामीले पनि उहाँहरुलाई भनिरहेका छौँ । भौतिक दूरी कायम गर्ने विषयमा कसैले हेलचेक्र्याईं गरिरहेको छ भने उसलाई कानुनी उपचार पनि खोज्नुपर्ने हुन्छ । जबरजस्ती कानुनको पालना नगर्ने अनि सरकारलाई मात्रै दोष दिएर हुन्छ ? 

जथाभावी गर्नेलाई सङ्क्रामक ऐन अनुसार कारबाही

जथाभावी गर्ने व्यक्तिले सङ्क्रामक ऐनले गरेको व्यवस्था अनुसारको कारबाही प्रक्रिया पनि हेर्नुपर्यो । नेपालको कानुन थाहा छैन र मैले जानेको छैन भनेर कोरोना फैल्याएर मान्छे मार्ने अधिकार कसैलाई पनि छैन । सुरुमा नजानेका  मान्छेहरुलाई सम्झाई बुझाई गर्नुपर्यो ।

त्यति गर्दा पनि मानेन भने लापरबाही गर्नेहरुलाई सङ्क्रामक ऐनले व्यवस्था गरेअनुसारको कारबाही गनुपर्छ । एक दुई जनाले मात्रै नियन्त्रण गरेर सम्भावना नरहेकोले हरेक व्यक्तिले यसको जिम्मेवारी लिनुपर्छ । सबै मिलेर कोेरोनाको सङ्क्रमणसँग लड्नुपर्छ ।

(स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग टेकमान शाक्यले गर्नुभएको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close