प्रदेशसमाचारसमाज

बबई नदीमा अपूरो तटबन्ध, डरैडरमा रात कटाउँछन् बालापुरबासी

[mashshare]

गुलरिया : गुलरिया नगरपालिका ५ बालापुरका सोवेन्द्र चौधरीको वर्षा हुने वित्तिकै भोक- निन्द्र हराउँछ।बबई नदी तटीय क्षेत्रमा रहेको सिंगो बालापुरगाउँ बाढीको चपेटामा रहेकाले डरैडरमा रात काट्नुपर्ने उनको बाध्यता छ ।

बबई नदीमा पानीको बहाव बढेपछि सोझै बालापुरतिर हानिन्छ। गुलरिया नगरपालिका ५ का वडा सदस्य समेत रहेका चौधरीले भने, ‘बबई नदीको किनारमा निर्माणाधिन तटबन्धले पूर्णता नपाउँदा वर्षाको बेला जीवनमरणको दोसाँधमा हुन्छौं।’
 
यसपटक पनि विगतमा जस्तै बाढी आयो भने त गाउँ सबै डुब्ने खतरा छ । बालापुर क्षेत्रमा केही तटबन्धको काम बाँकी नै भएकाले नदी सोझिने डर छ । बाढी आयो भने बस्ने गाउँमा एउटा सेल्टर छ त्यो पनि अपुग हुन्छ । उनले थपे,’ गाउँमा विगतका वर्षमा बाढी आउँदा गाउँका सयौं घरका परिवारले क्षति ब्यहोरेका थिए।’

सरकारले समयमै तटबन्ध निर्माणमा चाँसो नदिँदा वर्षामा बाढी तथा डुवानको समस्या आउने गरेको हो । बर्दियाको बबई, कर्णाली नदीलगायत तिनका सहायक नदीहरु गेरुवा, औराही, मान तथा भादा खोलामा बाढीको समस्या आइरहन्छ । 

कर्णालीअन्र्तगत राजापुर, गेरुवा क्षेत्र बाढीको चपेटामा छन् । बबई नदी तटीय ठाकुरबाबा, मधुवन, बारबर्दिया, गुलरिया, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिका बर्षेनि बाढीको जोखिममा पर्ने गरेका छन् । बाढी प्रभावित जलाधार क्षेत्रहरु समयमै व्यवस्थापन गर्न नसक्दा बर्षातमा बाढी तथा डुवानको समस्या आउने गरेको हो ।

गुलरियामा पण्डीतपुर, बालापुर, रामपुर टप्पर, कोठीया, लट्कनिया क्षेत्रबाट बाढी पस्ने गर्छ । बबई भादा औरही नदी व्यवस्थापन आयोजनामार्फत सुरु गरिएको नदी व्यवस्थापन कार्य पूर्ण हुन नसक्दा बाढीको त्रास स्थानीयमा कायमै छ । 

गुलरिया नगरपालिका ८ का राधेलाल लोध आफूले लगाएको कृषि उपज बाढीले नोक्सान गर्ने भन्दै चिन्तित छन् । यदि पूर्ववत् रुपमा बाढी आएमा यस पटक पनि लगाएको मकैबाली नोक्सान पार्न सक्छ । उनले भने, ‘ बाढी आयो भने मकैका जरैदेखि बगाएर लैजान्छ, कसरी जोगाउने । बबईको पूरानो सरयु नदी वर्षामा उर्लिने हुनाले बाढीको जोखिम उत्तिकै छ।’

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ अनुसार विगतमा झै यसवर्ष बाढी आए २० हजार घरपरिवार प्रभावित हुनसक्ने पूर्वानुमानसहित प्रतिकार्यका लागि आकस्मिक योजना तयार पारिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । जिल्लाका सबै पालिका बाढीको जोखिममा छन् । उनले भने,’ सबै स्थानीय तहमा उद्धार तथा राहत सामग्री भण्डारका लागि उपयुक्त कक्षको व्यवस्थापन नहुँदा समस्या देखिएको हो।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close