शिक्षासमाचार

मध्यपश्चिम विश्वविद्यालयमा आर्थिक बेथिति

[mashshare]

जनताले पसिना बगाउँदै आफ्नो छाक काटेर स्थापना गरेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा चरम आर्थिक बेथिति देखिएको छ । कर्णालीमै उच्च शिक्षा आर्जन गर्न सहज होस् भन्दै स्थानीयले सर्घष गरेर स्थापना भएको यो विश्वविद्यालयमा आर्थिक अनियमितता बढ्दै गएको पाइएको हो ।

विश्वविद्यालयका पदाधिकारी, शिक्षक र कर्मचारीले कानुन र नियम मिचेर रजाइँ गरेको पाइएको छ । नियमानुसार यहाँ कार्यरत पदाधिकारी र कर्मचारीलाई तलव सुविधा उपलब्ध हुन्छ । तर विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले कानुनविपरित एक करोडभन्दा बढी रकम भत्ता बापत लिएका छन् । महालेखा परीक्षकको प्रतिवेदन अनुसार विभिन्न समयमा कार्यरत रहेका पदाधिकारी, शिक्षक तथा कर्मचारीले एक करोड तीन लाख १२ हजार रुपैयाँ भत्ता लिएका छन् । यो कानुनविपरित भएको महालेखाले ठहर गरेको छ । नेपाल सरकारको स्विकृती विना नै विभिन्न प्रकारका सेवा र सुविधाको नाममा यो रकम भत्ता वापत लिएको पाइएको हो ।

मप विश्वविद्यालयको ऐन २०६७ को दफा ३९ मा विश्वविद्यालयले नेपाल सरकारलाई आर्थिक दायित्व पर्नेगरी कुनै पनि पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधा थप गर्नुअघि अर्थमन्त्रालको स्वीकृती लिनुपर्ने उल्लेख छ । तर विश्वविद्यालयको कार्यकारी परिषद्ले अर्थमन्त्रालयको स्वीकृती नलिई पदाधिकारीलाई विभिन्न प्रकारका भत्ताको नाममा भुक्तानी दिएको महालेखाको प्रतिवेदनले औल्याएको छ ।

यस्तै विश्वविद्यालयले एक करोडभन्दा बढी रकमको लेखा परीक्षणसमेत गराएको छैन । महालेखाको प्रतिवेदन अनुसार मध्यपश्चिमाञ्चल विश्वविद्यालयको ऐन २०७६ को दफा ३३ अनुसार महालेखा परीक्षकबाट लेखा परीक्षण गराउनुपर्ने उल्लेख छ ।

पूर्वरजिष्ट्रारदेखि ठेकेदारको नाममा ४८ लाख बेरुजु

मध्यपश्चिमाञ्चल विश्वविद्यालय का पूर्वरजिष्ट्रारदेखि ठेकेदारको नाममा ४८ लाखभन्दा बढी रकम बेरुजु देखिएको छ । यस्तै मानविकी संकायको केन्द्रिय क्याम्पसको भवन निर्माण गर्ने कम्पनी कविर÷गोपाल÷जेभीको नाममा सबैभन्दा बढी २३ लाख ९० हजार रुपैयाँ बेरुजु छ । स्रोतका अनुसार तत्कालिन रजिष्ट्रार ठेगेन्द्रप्रसाद गिरीको नाममा दुईलाख १५ हजार रुपैयाँ बेरुजु छ ।

उनीसँगै निलम्वनमा परेका अधिकृत जीवनकुमार थापाको नाममा ७० हजार, पूर्व उपकुलपति पदमलाल देवकोटाका स्वकीय सचिव सुदन गौलीको नामा एकलाख ५७ हजार, अधिकृत गगनसिंह बोहोराका नाममा दुईलाख ४५ हजार आठसय ८२ रुपैयाँ बेरुजु छ । उनीहरु अख्तियारको छानविनमा परेपछि निलम्बनमा परेका थिए । त्यस्तै तत्कालिन उपप्रध्यापक सुनिल देवकोटाका नाममा ५० हजार रुपैयाँ बेरुजु छ । हाल उनले जागिर छोडी सकेका छन् । विश्वविद्यालयका तत्कालिन मुख्य सहायक स्टोर गणेशबहादुर केसीको नाममा एकलाख ३३ हजार रुपैयाँ बेरुजु छ । यद्यपी अख्तियारको छानविनमा परेका उनले सफाइ पाइसकेका छन् । त्यस्तै तत्कालिन अनुगमन अधिकृत पारसराम गिरीको नामा एकलाख रुपैयाँ बेरुजु छ ।

त्यस्तै मुख्य सहायक विजया गिरीको नाममा तीस हजार र कार्यालय सहयोगी निरञ्जन कार्कीका नाममा ३२ हजार बेरुजु छ । दुबै जनाले हाल जागिर छोडिसकेका छन् । त्यस्तै साविक वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा कार्यरत रहँदा सहप्राध्यापक शरदचन्द्र कस्यपको नाममा दश हजार पाँच सय, उप–प्राध्यापक गजेन्द्र भण्डारीका नाममा २० हजार, तत्कालिन इन्जिनियरिङ संकायका डिन ललितबिक्रम राणाको नाममा ३० हजार रुपैयाँ बेरुजु छ । राणाले डिन पद छोडेर गएका थिए । पूर्वरजिष्ट्रार महेन्द्रकुमार मल्लको नाममा पनि २३ हजार ७० रुपैयाँ बेरुजु रहेको विश्वविद्यालय प्रशासनले जनाएको छ । yugnews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close