
सुर्खेत, २१ साउन ।
कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले आफै गाउँमा पुगेर योजनाको चेक हस्तान्तरण गरेकी छन् । जिल्लाको चौकुने गाउँपालिका–८, भामले गाउँमा सहकारी नमुना गाउँ कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षका सबै योजना सम्पन्न भएपछि सोमबार मन्त्री आफै गाउँमा पुगेर लाभान्वित समुदायलाई धन्यबाद दिदै योजनाको चेक हस्तान्तरण गरेकी हुन् ।
यसरी मन्त्री आफै गाउँमा पुगेर योजनाको काम हेर्दै समुदायलाई चेक हस्तान्त्रण गरेको पहिलो उदाहरण हो । चौकुनेको भामले गाउँमा लाभान्वित १४ घरधुरीमा तरकारी टनेल निर्माण कार्य सकिएपछि मन्त्रीले स्थलगत अनुगममन गर्दै समुदायलाई चेक हस्तान्तरण गरेकी छन् ।
त्यहाँका पाँच वटा सहकारी मिलेर संयुक्त सञ्चालक समिति गठन गरी सहकारी नमुना गाउँ कार्यक्रम अन्तर्गत तरकारी उत्पादनका क्रियाकलाप अघि बढाईएको हो । जसमा सहकारी नमुना गाउँ कार्यक्रमको ४५ लाख र चौकुने–५ मा मायाताल डीप बोरिङ्गको २४ लाखको चेक समुदायलाई हस्तान्त्रण गरिएको छ ।
आर्थिक अनियमिततालाई ख्याल गर्दै सञ्चालक समितिद्वारा गाउँमा योजनाको काम सम्पन्न भएपछि मात्रै कामको मुल्यांकनपछि चेक हस्तान्त्रण गरिएको हो । चेक हस्तान्त्रण गर्दै मन्त्री केसीले समाजबाद निर्माणको मोडल तयार गर्न सहकारी नमुना गाउँ कार्यक्रम सुरु गरिएको बताइन् ।
सहकारी नमुना गाउँ कार्यक्रम सञ्चालक समिति अध्यक्ष हिमलाल कँडेलले आत्मनिर्भरका लागि कृषकले तरकारी उत्पादनमा जोड दिएको भन्दै बजार व्यवस्थापनमा समन्वय गर्न गाउँपालिकालाई अनुरोध गरे । सोही अवसरमा चौकुने गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले सहकारी नमुना गाउँ कार्यक्रमको मोडल अनुसार गाउँपालिकाले पनि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।