प्रदेशराजनीतिसमाचारसमाज

कांग्रेसका केन्द्रीय विभागमा कर्णालीका ३६ जना मनोनित

[mashshare]

नेपाली कांग्रेसले गठन गरेको विभिन्न १२ वटा विभागमा कर्णाली प्रदेशबाट ३६ जना नेता मनोनित भएका छन् । सुर्खेतबाट मात्र ९ जना केन्द्रीय विभागमा परेका छन् । नेपाली कांग्रेसको विधानअनुसार पार्टी सभापति शेरबहादुर देउवाले १० वटा विभागमा आइतबार र दुईवटा विभागमा जेठ १७ तथा जेठ २८ मा मनोनित गरेका हुन् ।

वित्तीय तथा सहकारी विभागको उपप्रमुखमा सुर्खेतका पुराना नेता गोविन्दबहादुर मल्ल छनोट भएका छन् । विभागमा दैलेखका बखत कटुवाल सदस्य भएका छन् । शिक्षा विभागमा नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघका पूर्व केन्द्रीय उपाध्यक्षसमेत रहेका डा. महेन्द्रकुमार मल्लसहित कालीकोटका शिक्षक दानबहादुर बम छनोट भएका छन् । मल्ल मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वरजिष्ट्रारसमेत हुन् ।

संगठन विभागमा सुर्खेतका धर्मराज रेग्मी र भवानी थानीका साथै कालीकोटका कालीबहादुर सहकारी र मुगुका ऐनबहादुर शाही मनोनित भएका छन् । गिरी पार्टीका सुर्खेत जिल्ला कार्यसमितिका पूर्वसचिव हुन् भने थानी कांग्रेसनिकट कर्मचारी संगठनका पूर्वअध्यक्ष हुन् । सहकारी कालीकोट र शाही मुगुका पार्टी पूर्वजिल्ला सभापति हुन् ।

तरुण विभागमा सुर्खेतका डोरप्रसाद शर्मासहित रुकुमका नरबहादुर बिष्ट, दैलेखका राजेशकुमार शाही र कालीकोटका मिनबहादुर बोगटी मनोनित भएका छन् । निर्माण व्यवसायी समन्वय विभागमा कालीकोटकी तारा शाही र दैलेखका शेरबहादुर शाही मनोनित भएका छन् ।

यातायात व्यवसायी समन्यव विभागमा ५ जना परेका छन् । सुर्खेतका इन्द्र रावल, रुकुमका दुधकुमार पुन, हुम्लाका पदमबहादुर शाही, रुकुमका उपेन्द्रबहादुर मल्ल र सल्यानका नेत्रलाल वली सदस्यमा मनोनित भएका छन् । खेलकुद विभागमा सुर्खेतका दीपक राईसहित ४ जना परेका छन् । हुम्लाका बखतबहादुर शाही, रुकुमका शिव आचार्य र कालीकोटका अशोक योगी सदस्यमा मनोनित भएका छन् । स्थानीय तह समन्वय विभागमा हुम्लाका मंगल शाही र मुगुका फन्जोक लामा परेका छन् ।

मुस्लिम विभागमा पनि ३ जना मनोनित भएका छन् । सुर्खेतका सतार बक्स, सल्यानका जवार अलि र दैलेखका इब्राहिम मिया सदस्यमा मनोनित भएका छन् । तराई–मधेश समन्वय विभागमा सुर्खेतका धनिराम सुनार र रुकुमका उपेन्द्रबहादुर मल्ल विभागमा सदस्य भएका छन् । संघीय मामिला तथा प्रदेश समन्वय विभागमा जुम्लाका भक्तबहादुर रोकाया, सल्यानका प्रेमबहादुर डाँगी र रुकुमका लालबहादुर महत तथा वन, वातावरण तथा विपद व्यवस्थापन विभागमा दैलेखका भरत रिजाल, जुम्लाका गोविन्द शाही र जाजरकोटकमा बिनबहादुर सिंह मनोनित भएका छन् ।

यसअघि केन्द्रीय उपसभापतिको अध्यक्षतामा रहने पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानमा सुर्खेतका नारायण सापकोटा, कालीकोटका मोतिराज बमलगायत सदस्यमा मनोनित भएका छन् । विनोद चौधरीको अध्यक्षतामा गठन भएका लगानी व्यवस्थापनसम्बन्धी केन्द्रीय विशेष समितिमा सुर्खेतका विष्णुबहादुर खड्का सदस्यमा मनोनित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close