प्रदेशसमाचारसमाज

कर्णालीमा पानीको बहाव बढ्यो, लालिघाट र जितेबजार जोखिममा

[mashshare]

कालिकोट : कर्णाली नदीमा पानीको बहाव बढेपछि लालिघाट र जितेबजार बाढीको उच्च जोखिममा परेका छन् । नदीमा ढुंगामुढासहित पानीको सतह निकै बढेपछि कर्णाली र तिदा नदीको किनार कडा चट्टानको फेदमा रहेको जिते बजार र लालिघाट बजार बाढीको उच्च जोखिममा परेका हुन् । 

२०६३ साल चैत ३० गते कर्णाली राजमार्गको जुम्ला सुर्खेत सडक खण्डमा गाडि गुडेपछि स्थापना भएको जिते बजारमा अहिले पनि घना बस्ती छ । बस्ती पछाडि तिला र कर्णाली नदीको तीव्र बहाव जुनसुकै बेला पनि बग्न वा पुरिन सक्ने जितेबजारको घाटमा २७ परिवारको बसोबास छ।

उच्च जोखिममा रहेको यो ठाउँका स्थानीय बजारवासी वर्षौदेखि बसिरहेका छन्। चिया पसल मात्र भएको लालिघाट बजार कर्णाली करिडोरमा जीप संचालन भएपछि थप विस्तार भयो । त्यहाँ अहिले पनि दर्जनौं पसल छन् । नदी किनारसँगै जोडिएको उक्त बजार नदीमा पानीको बहाव बढेपछि निकै जोखिममा परेको छ । 

स्थानीय व्यापारी नेत्र बिष्टका अनुसार कर्णालीमा पानीको बहाव निकै बढेपछि स्थानीय व्यापारी त्रसित बनेका छन् । उनले भने, ‘लालिघाट बजार र नदी किनारको दूरी पहिले २५ मिटर थियो । तर नदीमा आइतबार रातीबाट पानीको बहाव बढेर नदीको छालले बजार छोइसकेको छ । यही गतिमा नदीमा पानीको बहाव बढ्दै गएपछि कुन बेला बजार डुब्छ थाहा छैन् ।’

उनले नदीले पसल छुने अवस्था आएपछि पसलमा राखिएको लाखौंको माल समान कहाँ लिने, कसरी लिने समस्या परेको बताए ।  ती बजारमा अधिकांश व्यापारी बाहिरबाट आएका र केही स्थानीयले पनि पसल थापेका छन् । सुरक्षित ठाउँतिर जान प्रशासनले बेला बेलामा आग्रह गरेपनि स्थानीय व्यापारी जान मानेका छैनन् । उनीहरु जोखिम मोलेर भगवान भरोसामा जिते र लालिघाट बजारमा बसोबास गरिरहेका छन् ।

वर्षौदेखि जोखिमयुक्त ठाउँमा रहेको उक्त बजार अहिले नदीमा पानीको सतह बढेसँगै थप जोखिममा परेको छ । प्रमुख जिल्ला अधिकारी चन्द्रसाद गैरेले नदीमा पानीको सतह बढ्यो भन्ने खबर प्राप्त भएपछि नेपाल प्रहरी र नेपाली सेनाको टोलीलाई स्थलगत खटाइएको बताए । 

उनले पछि हुनसक्ने जोखिमलाई आंकलन गरी स्थानीय व्यापारीलाई सुरक्षित स्थानमा जान पनि आग्रह गरेका छन् । उनले भने, ‘हामीले नेपाल प्रहरी र नेपाली सेनालाई नदीबाट जोखिममा परेको बजारको अवस्था बुझ्न खटाइएको छ । बजारबासीलाई सुरक्षित ठाउँमा जान आग्रह पनि गरेका छौं । कर्णाली नदीमा आइतबार रातीबाट ठूला ठूला मुढा, ढुंगा बग्नुको साथै पानीको सतह बढेको बुझिएको छ ।’

करिब ६ वर्षअघि राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर सडक निर्माणका बेला उनीहरूलाई समान्य क्षतिपूर्ति लिएर जान आग्रह गर्दा जान मानेनन् । बस्ती भन्दा २० मिटरको सिधा दुरीमा नदी वरिपारि सडक निर्माण गर्नुपर्ने भएकाले त्यो बस्ती जोगाउन नसक्ने निष्कर्षसहित निर्माणको जिम्मा पाएको नेपाली सेनाले स्थानीय बासीलाई घर भत्काएर सुरक्षित ठाउँ जान आग्रह गरेको थियो । 

प्रशासनले पटकपटक उनीहरुलाई अन्यत्रै जान सूचना पनि जारी गरेको हो । तर उनीहरुले अन्यत्र उपयुक्त ठाउँको समस्या हुने भन्दै कही गएनन् ।२०७३ सालमा लालिघाट गेज बजारमा पहिरो जाँदा आठ जनाको ज्यान गएको थियो । annpurnapost

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close