प्रदेशसमाचार

केन्द्र सरकारले कर्णालीमा ३९ वटा अस्पताल भवन बनाउँदै

[mashshare]

सुर्खेत, ११ भदौ
कर्णाली प्रदेशमा ३९ वटा अस्पताल सञ्चालनका लागि नयाँ भवन निर्माण गरिने भएको छ । केन्द्र सरकारले कर्णाली प्रदेशका १० वटा जिल्लाका विभिन्न पालिकाहरुमा अस्पताल सञ्चालनका लागि भवन निर्माण गर्ने भएको हो । हरेक पालिकामा पाँचदेखि १५ शैयाको अस्पताल बनाउने सरकारको नीति अनुसार चालु आर्थिक वर्षमा कर्णालीमा ३९ वटा अस्पतालका भवन निर्माण गरिने भएको हो ।

आइतबार बसेको केन्द्र सरकारको मन्त्रीपरिषदको बैठकले अस्पताल भवन बनाउने निर्णय गरेको छ । जसमध्ये सुर्खेतमा सात वटा, हुम्लामा चार वटा, जाजरकोटमा पाँच वटा, जुम्लामा दुई वटा र दैलेखमा ६ वटा अस्पताल बनाइने छ । त्यस्तै रुकुममा दुई वटा, सल्यानमा ६ वटा, कालिकोटमा दुई वटा र डोल्पामा तीन वटा अस्पतालका भवनहरु निर्माण हुनेछन् ।

३९ वटा भवन मध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३३ वटा अस्पतालको भवन निर्माणका लागि बजेट सम्बन्धित स्थानीय तहलाइ पठाउने छ । बाँकी ६ वटा अस्पतालका भवन भने शहरी विकास मन्त्रालय अन्तरगतको भवन डिभिजन कार्यालयले बनाउने छ । अस्पताल बनाउँदा कुनै स्थानीय तहमा साविककै स्वास्थ्यचौकी र स्वास्थ्य केन्द्रलाई विस्तार गरिनेछ भने कुनै स्थानीय तहमा नयाँ ठाउँमा अस्पताल सञ्चालनका लागि भवन निर्माण हुनेछन् । विशेषज्ञ बाहेकका स्वास्थ्य सेवाहरु गाउँमै पुरयाउने उद्देश्यले रणनीतिक अस्पतालको भवन निर्माण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कर्णालीको नाजुक स्वास्थ्य अवस्थातलाई मध्येनजर गरेर स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यले पहिलो चरणमा अस्पतालको भवन निर्माण गरिने केन्द्र सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावलले जानकारी दिए । सम्बन्धित क्षेत्रको जनघनत्व, स्थानीय जनप्रतिनिधि र स्वास्थ्य क्षेत्रको मापदण्डका आधारमा अस्पताल सञ्चालनको लागि भवन निर्माण गरिनेछ ।

जसमध्ये जनसंख्या र भौगोलिकताका आधार पाँचदेखि १५ शै यासम्मको अस्पतालहरु बन्नेछन् । जसअन्तरगत पाँच शैयाको लागि सात करोड, दश शैयाको लागि ११ करोड र १५ शैयाको भवन निर्माणको लागि भौगोलिक क्षेत्रका आधारमा १६ देखि १८ करोडसम्म रकम उपलब्ध हुनेछ । भवन निर्माणका लागि केही हप्ताभित्रै पहिलो किस्ताको रकम सम्बन्धित स्थानीय तहमा पठाउने मन्त्रालयले जनाएको छ । बहुबर्षिय आयोजना अन्तरगत सात करोडदेखि १८ करोडसम्मको लागतमा भवनहरु निर्माण हुनेछन् ।

भवन निर्माणका लागि सुरुवाति चरणमा एककरोड रुपैयाँ मन्त्रालयले स्थानीय तहलाई पठाउनेछ । उक्त बजेटले चालु आर्थिक वर्षमा डेन्टर गरेर भवनको जग बसाल्ने लगायतका आधारभूत कामहरु थालनी गरिनेछ । कामलाई छिटो र छरितो गराउने कर्णालीका ३३ वटा अस्पताल निर्माण गर्ने जिम्मा स्थानीय तहलाइ नै दिइएको छ ।

त्यस्तै ६ वटा अस्पतालहरु भने शहरी विकास मन्त्रालयको भवन निर्माण डिभिजन कार्यालयले बनाउने छ । यसअघि स्वास्थ्य क्षेत्रका सम्पूर्ण अस्पतालहरु भवन निर्माण भिडिजन कार्यालयले हेर्दै आएको थियो । विकास निर्माणमा स्थानीय तहका जनप्रतिनिधिलाई उत्तरदायी बनाउन र काममा गुणस्तरियता कायम गर्न भवन निर्माणको जिम्मा स्थानीय तहलाइ नै दिइएको हो ।yugnews

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close