
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा अरिङ्गालको टोकाइबाट शुक्रबार राति एक बालकको मृत्यु भएको छ । चौकुने गाउँपालिका ६ का ७ वर्षीय खगेन्द्र बयकको मृत्यु भएको हो ।
समयमै उपचार नहुँदा शुक्रबार राति ९ बजे बाटोमै उनको मृत्यु भएको हो । बालक घरनजिकै माथिल्लो भावरको रातीमाटे डाँडामा आफ्ना साथीसँग गाई–गोरु चराउन गएका थिए ।
दिउँसो ४ बजे अरिङ्गालले टोकेपछि उनी हतारहतार घर फर्किएका थिए । घरमा घरेलु उपचार गर्दागर्दै उनी बेहोस भएका थिए । त्यसपछि उपचार गर्न लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो । मृतक बयक स्थानीय जीवन ज्योति मावि कक्षा १ मा अध्ययरत रहेको आफन्तले बताएका छन ।