राजनीतिसमाचार

मन्त्रीको नाम टुंग्याउने जिम्मा खड्का लाई,

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा जाने नयाँ मन्त्री छान्ने जिम्मा कर्णालीका शक्तिशाली नेता पूर्णबहादुर खड्काले पाएका छन् । बिहीबार बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले सरकार सञ्चालन कार्यदललाई नै मन्त्री छान्ने जिम्मा दिएको हो ।

आठ सदस्यीय कार्यदलको संयोजक कांग्रेस महामन्त्री समेत रहेका खड्का हुन् । यसअघि कार्यदलले साझा दलीय रणनीति र कार्ययोजना बनाएर प्रधानमन्त्री देउवालाई बुझाएको थियो । साथै त्यतिबेला प्रतिवेदन बुझाउँदा मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई दिइएको थियो ।

तर झण्डै महिना दिन लामो समयसम्म पनि शीर्ष नेताहरुले अनेक कसरत गर्दा समेत मन्त्रीको टुंगो लगाउन नसकेपछि त्यसको चाबी पूर्ण खड्कालाई दिइएको हो । कांग्रेस महामन्त्री खड्का नेतृत्वको कार्यदलमा माओवादी, कांग्रेस, नेकपा समाजवादी र जसपाका प्रभावशाली नेताहरु सदस्य छन् ।

सबै पार्टीमा मन्त्री बन्नका लागि हानथाप छ । शीर्ष नेतालाई समेत कसलाई मन्त्री बनाउने भन्ने विषयमा अलमल छ । यस्तो अवस्थामा लामो समयदेखि देउवाको दाहिने हात भएर काम गरेका खड्काले सहजै रुपमा मन्त्रीको नाम टुंग्याएर दिन गृहकार्य थालेका छन् ।

यसका लागि उनले बिहीबारबाटै परामर्श थालेका छन् । कम्तीमा एक हप्तामा प्रधानमन्त्री देउवाको हातमा मन्त्रीको नाम टक्राउने गरी उनले तयारी थालेका छन् । यसर्थ अब मन्त्री बन्नका लागि आफ्ना शीर्ष नेतालाई होइन, कांग्रेस महामन्त्री तथा कर्णालीका शक्तिशाली नेता पूर्णबहादुर खड्कालाई भनसुन गर्नुपर्ने हुन्छ । 

यसले पनि देउवा सरकारका मन्त्रीको चाबी पूर्णबहादुर खड्काको हातमा पुगेको छ । नेकपा समाजवादी र जसपाले ठूलो संख्यामा आफ्ना मन्त्री हुनुपर्ने माग नछाडेपछि यसको छिनोफाने गर्ने जिम्मा खड्कालाई दिइएको बालुवाटार स्रोतले जनाएको छ । 

बढीमा २५ वटा मन्त्री बनाउन पाइने भएपनि अहिले संघीय सरकारमा २१ वटा मन्त्रालय छन् । मन्त्रालय फुटाउँदा गलत सन्देश जाने भएपछि देउवा केही दबाबमा छन् । त्यही दबाब सत्ता साझेदार प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवलाई पनि छ ।

अहिले देउवा सरकारमा माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल तथा कांग्रेसबाट बालकृष्ण खाँण, ज्ञानेन्द्र कार्की र उमेश श्रेष्ठ मन्त्री छन् । नयाँ मन्त्री बन्नका लागि नेकपा समाजवादी र जसपाभित्र ठूलो विवाद छ । अब पार्टी र नेताहरुबीचको विवादलाई मिलाएर कसरी उपयुक्त व्यक्तिको नाम मन्त्रीका लागि सिफारिस गर्ने ? पूर्णबहादुर खड्काको अर्को परीक्षा सुरु भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close