विचार

बालबालिकालाई आत्महत्याबाट जोगाउन अभिभावकको भूमिका

नेपालमा आत्महत्या गर्नेको सङ्ख्या बढिरहेकाे छ । मनोपरामर्शकर्ताको रूपमा म कार्यरत जिल्ला धादिङमा आर्थिक वर्ष २०७७/७७८ मात्रै १४२ जनाले आत्महत्या गरेका छन् ।

जसमध्ये १५ वर्ष मुनिका १० जना र १५ देखि ३० वर्ष उमेर समूहका ४६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । अघिल्लो वर्षको तुलनामा यो सङ्ख्या २८ प्रतिशत बढी हो । २०७६/२०७७ मा ९६ जनाले आत्महत्या गरेका थिए । आत्महत्या गर्नेहरूले विशेष गरी रातीको १२ बजेदेखि बिहानको ४ बजेको समयमा गरेको पनि प्रहरीले जनाएको छ ।

जुन अनुपातमा आत्महत्याको दर बढिरहेको छ । त्यस अनुसार जनचेतना फैलाउन ढिला भइसकेको छ ।

हाम्रो समुदायमा युवा, वयस्क, प्रौढ र वृद्धवृद्धाले मात्र आत्महत्या गर्छन् भन्ने मानसिकता छ । तर पछिल्लो समय आत्महत्या गर्नेको सङ्ख्यामा बालबालिका पनि थपिएका छन् । त्यसैले उमेर पुगेकाले मात्र आत्महत्या गर्छन् भन्ने सोच्नु गलत हुन्छ । 

 बालबालिका तथा किशोर किशोरीलाई के को तनाव हुन्छ र ? भनेर बेवास्ता गर्दा आत्महत्याबाट बालबालिकालाई बचाउन सकिएको छैन । सयौँ बालबालिकाले आत्महत्या गरिसकेका छन् । 

सबै काम अभिभावकले गर्ने हो । उनीहरूलाई केही पनि समस्या हुँदैन । घर व्यवहार चलाउन पर्दैन भनेर उनीहरूको भावना बुझ्न नसक्दा आत्महत्याको दर बढिरहेको विभिन्न अध्ययनहरुले समेत देखाएको छ । 

आत्महत्याले एउटाको जीवनलाई खतम पार्छ भने धेरैको जीवनमा र समाजमा ठुलो असर पारिरहेको हुन्छ । 

आत्महत्याको जोखिम 

धादिङ जिल्लामा २८ प्रतिशतले आत्महत्या गर्नेको सङ्ख्या बढेको गत आर्थिक वर्षको प्रहरीको तथ्याङ्कले देखाएको छ । बालबालिका प्रति हाम्रो ध्यान जान नसक्दा,उनीहरूलाई बुझ्न नसक्दा,उनीहरूको भावना नबुझ्दा र बालबालिका चाहिँ अभिभावकको (एस मेन) हो भन्ने सोचका कारण बालबालिकाहरूमा नकारात्मक विचारहरू प्रकट भएको पाइन्छ ।

अधिकांश परिवारमा बालबालिकाहरूले मनमा लागेको कुरा, परेको पिर र भावनाहरु भन्ने वा सुन्ने वातावरण भएको पाइँदैन । बालबालिकाको समस्या हो कि स्वभाव यस्तै हो भनेर अभिभावकले बुझ्न नसक्दा समस्याहरू बढिरहेका छन् । 

पारिवारिक झैँ झगडा हुनु, हिंसामा पर्नु, यौन दुर्व्यवहारमा पर्नु, विद्यालयमा समस्या हुनु (शिक्षक,साथीभाइ) पढाइमा सोचे जति प्रगति गर्न नसक्नु, आफ्नो नजिकको साथीले विद्यालय छाड्नु वा मृत्यु हुनु, कसैले यौनजन्य दुर्व्यवहार गर्नु र मन परेको केटा साथी वा केटी साथीबीच बिछोड हुनु, विद्यालय परिवर्तन हुनु, बालबालिकाको माग पूरा नहुनु, अभिभावकले अनावश्यक हस्तक्षेप गर्नु लगायतका कारणले पनि बालबालिकामा आत्महत्याको जोखिम बढेको देखिन्छ । 

आत्महत्या गर्नबाट बचाउन सकिन्छ

आत्महत्याको घटना हुन नदिन पहिला नै बालबालिकाहरूको खतरा जन्य सङ्केतहरू थाहा पाउन सकिन्छ । सबै अभिभावकहरूमा छुट्याउन सक्ने क्षमता नहुन पनि सक्छ । तर केही कुरा मात्र थाहा पाउन सकियो भने अभिभावकले आफ्नो बालबालिकालाई आत्महत्या गर्नबाट बचाउन सक्छन् । 

यसको लागि अभिभावकले आफ्ना बालबालिकाहरूको लागि समय दिनुपर्छ । हामी हाम्रो बालबालिकासँग बोल्न, उनीहरूको कुरा सुन्न, भावनाहरु बुझ्न समय नै हुँदैन । अलिकति भएको समय पनि अभिभावक सामाजिक सञ्जाल  र टेलिभिजनमा बिताउनुहुन्छ । सामाजिक सञ्जाल चलाउनै हुन्न, टेलिभिजन हेर्न हुन्न भन्न खोजेको होइन । तर समयको व्यवस्थापन गरेर आफ्नो बालबालिकालाई पनि समय दिन पर्छ । 

उनीहरूलाई अभिभावकले महत्त्व दिन जरुरी छ । जसरी अभिभावक र बालबालिकाबीच घुलमिल, हाँस खेल र रमाइलो हुने हो त्यो भएको देखिँदैन । राम्रोसँग बालबालिकासँग कुराकानी गर्‍यो, नजिक भयो र हाँस खेल गर्‍यो भने त्यति नै बालबालिकाले आफ्नो अभिभावकलाई आफ्नो ठान्छन् र नजिकिन्छन् । आफ्नो मनमा लागेको कुरा भन्छन् र आफ्नो भावनाहरु पनि व्यक्त गर्छन् ।

घरमा अभिभावकसँग बालबालिकाले आफ्नो मनको भावना भन्ने वातावरण कमै हुन्छ । त्यस कारण अब अभिभावकले नै त्यो वातावरण बनाउन पर्छ ।

स्कुल मात्रै बालबालिकाको लागि सब थोक होइन । बालबालिकाको सबैभन्दा ठुलो स्कुल उसको घर र शिक्षक उसका बुवा आमा नै हुन् । 

बालबालिका संवेदनशील हुन्छन् । सानातिना कुराहरूले बालबालिकालाई प्रभाव पार्न सक्छ । आत्महत्या गर्ने अधिकांश व्यक्तिहरूले दोस्रो व्यक्तिसँग आफू मर्ने बारेमा कुरा गरेका हुन्छन् ।

तर हाम्रो समाजमा ‘मर्नेले भन्दै भन्दैन, भन्नेले मर्दै मर्दैन’ भन्ने गलत मानसिकताको कारण घटना बढिरहेको देखिन्छ । आफ्ना बालबालिकाले पनि मर्ने बारे कुरा गर्‍यो, मर्ने औजारहरू जम्मा गर्न थाल्यो र यसैबारे सोध्न थाल्यो भने अभिभावक चनाखो बन्नुपर्छ । आत्महत्या हुनुको पछाडि धेरै कारणहरू छन् । तर आत्महत्या हुनेबाट जोगाउन भने सकिन्छ । 

अभिभावकले ध्यान दिनुपर्ने कुरा

अभिभावकहरू आफ्ना बालबालिका प्रति बढी नै सतर्क हुनुपर्छ । उनीहरूको प्रत्येक व्यवहार, सोचाइ र भावनालाई नजिकबाट अवलोकन गर्नुपर्छ । आफ्ना बालबालिका पहिला र अहिलेमा के मा फरक छन्,कसरी दैनिकी बिताई रहेको छ भनेर सोच्नुपर्छ । 

आफ्ना बालबालिकाले निराशाका कुराहरू गर्न थाले, किन बाँच्नु पर्‍यो, मर्न पाए राम्रो हुन्थ्यो भन्न थाले, विद्यालयमा जान नमान्ने, सँगैका साथीहरूबाट टाढा हुने, खेल्न नजाने, एक्लै बस्ने, आत्महत्याको बारेमा अभिभावकहरूसँग सोध्न थाले भने, आत्महत्या सम्बन्धी चित्र बनाउने, सामाजिक सञ्जालमा आत्महत्या सम्बन्धी लेख्ने वा भिडियो शेयर गर्ने, पढाइमा कमजोर हुने, खाना खान मन नगर्ने, सरसफाईमा ध्यान नदिने र परिवारबाट टाढा हुँदै गए भने अभिभावकले यस्तो बेलामा विशेष ख्याल गर्नुपर्छ ।

यस्तो व्यावहार देखिएमा तुरुन्त मनोचिकित्सक, मनोविद् तथा मनोसामाजिक परामर्शकर्तासँग छलफल गर्नुपर्छ ।

सबैभन्दा पहिला बालबालिकाको साथी बन्ने कोसिस गर्नुपर्छ । उनीहरूसँग दैनिक १ घण्टा समय बिताउनुपर्छ । बालबालिकासँग खेल्ने, उनीहरूसँगै कथा बनाउने वा भन्ने उनीहरूको कुरा सुनिदिने, तिमीलाई अहिले कस्तो छ ? कस्तो लागिरहेको छ ? अप्ठेरो पर्दा तिमीलाई साथ दिने म छु नि भन्ने जस्ता कुराहरू भनिरहनु पर्छ ।

उनीहरूसँग नजिक हुने क्रियाकलाप गर्नुपर्छ । उनीहरूको कुरालाई ध्यान दिनुपर्छ र मैले बुझेको छु भनेर विश्वास दिलाउनुपर्छ । तिमीलाई केही सहयोग सहायता चाहिन्छ भने म छु भनेर विश्वास वा भरोसा दिलाउनुपर्छ । 

बालबालिकाको विश्वासमा घात पर्ने कुराहरू गर्नु हुँदैन । उनीहरूलाई सान्त्वना, भरोसा, उत्प्रेरणा र हौसला दिनुपर्छ । समय मिलाएर बालबालिकासँग घुम्न जाने वा नयाँ ठाउँमा लैजानुपर्छ ।

बालबालिकाहरूलाई तिमी गर्न सक्छौँ भनेर बारम्बार हौसला दिनुपर्छ । आफू पनि बच्चाको रोल मोडल अभिभावक बन्ने कोसिस गर्नुपर्छ । समस्याहरू बढ्दै गए भने तत्काल विशेषज्ञ तथा परामर्शकर्तासँग सम्पर्क गर्नुपर्छ । 

रामकुमार थापा

थापा धादिङको नीलकण्ठ नगरपालिकाकाे वरिष्ठ मनोविमर्शकर्ता हुनुहुन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close