हुम्लाका सहायक प्रजिअ स्पष्टीकरणमा

चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने विषयमा गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई स्पष्टीकरण सोधेको छ ।
चिनियाँ पक्षले भवन निर्माण गरेको सूचना सञ्चार माध्यममा दिएको भन्दै बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
गृह स्रोतका अनुसार प्रशासन शाखाले ‘नेपाल-चीन सीमा जस्तो संवेदनशील विषयमा तालुक निकायलाई जानकारी नदिइ के कति कारणले सञ्चार माध्यममा अभिव्यक्ति दिनु भएको हो सो सम्बन्धमा २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन आदेश अनुसार अनुरोध छ’ भन्ने पत्र पठाएको हो ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले पत्रबारे आफूलाई जानकारी नभएको तर दुई देशबीचको सिमानाको विषयमा सहायक प्रमुख जिल्ला अधिकारीले त्यसरी बोल्न नमिल्ने बताए ।
दुई साताअघि सहायक प्रजिअ हमाल नेतृत्वको टोली नेपाल-चीन सिमाना नाम्खा गाउँपालिका-६, लाप्चाक्षेत्र (लोलुङजोङ)मा पुगेर स्थलगत अध्यन गरेको थियो । सहायक प्रजिअ हमालले जनप्रतिनिधिहरु र स्थानीय बासिन्दाको भनाइलाई आधारमा चीनले नेपाली भूमिमा भवन बनाएको हुन सक्ने आशयको प्रतिवेदन जिल्लामा पेश गरेका थिए ।