तेजाव आक्रमण गर्नेलाई २० वर्ष कैद,

सरकारले तेजाव आक्रमण गर्नेलाई २० वर्षसम्म कैद सजाय हुनेगरी अध्यादेश ल्याएको छ। तेजाव आक्रमणमा परेर पूर्ण क्षति भएमा आक्रमणकारीलाई २० वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना हुने प्रावधान अध्यादेशमा राखिएको छ।
‘कसैको दुबै आँखा जलेकाे वा क्षति भई पूर्णरुपमा दृष्टि नष्ट भएमा, दुबै कान जाली क्षति भएमा वा सुन्ने शक्ति पूर्ण रुपमा नष्ट भएमा, नाक जलेकाे वा क्षति भई काम नलाग्ने भएमा, अनुहार पूर्ण रुपमा जलेकाे वा क्षति भई कुरुप भएमा, महिला भए दुवै स्तन जलेकाे वा क्षति भई काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग जलेकाे वा क्षति भई नासिएमा त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई २० वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना हुनेछ’ अध्यादेशमा भनिएको छ।
तेजाव आक्रमणमा परेर एउटा आँखा, एउटा कान जाली क्षति भई काम नलाग्ने भएमा, आंशिक रुपमा अनुहार जलेकाे वा क्षति भई काम नलाग्ने भएमा, महिला भए एउटा स्तन जलेकाे वा क्षति भई काम नलाग्ने भएमा १० वर्षदेखि २० वर्षसम्म कैद र ७ देखि १० लाख रुपैयाँ जरिवाना लाग्ने प्रावधान राखिएको छ।
त्यस्तै दुवै हात जलेर काम नलाग्ने भएमा वा दुवै गोडा पूर्णरुपमा जलेर काम नलाग्ने भएमा, टाउकोको कुनै भाग जलेर क्षति भएमा वा मेरुदण्ड जलेकाे वा क्षति भइ काम नलाग्ने भएमा पनि १० देखि २० वर्षसम्म कैद र ७ लाख रुपैयाँ देखि १० लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान अध्यादेशमा छ।