होम आइसोलेसनमा बस्न बाध्य गर्भवतीलाई अस्पताल लगियो

नेशनल मेडिकल कलेजले भर्ना गर्न नमानेपछि अक्सिजन लगाएर होम आइसोलेसनमा बस्न बाध्य २६ वर्षीया गर्भवतीलाई आज नारायणी अस्पताल लगिएको छ । कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि उनलाई अस्पताल लगिएको हो ।
कोरोना संक्रमित भएकै कारण नेशनल मेडिकल कलेज कोरोना अस्थायी अस्पतालले भर्ना गर्न नमानेपछि गर्भवती घरमै थिइन् ।
सोमबार बिहानै उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको छ । महिलाको साथमा उनको श्रीमान इनरदीप पण्डित पनि अस्पताल गएका छन् ।
शनिबार रातिदेखि आइतबार बिहानसम्म अक्सिजन लगाएर राखिएको उनको स्वास्थ्य अवस्था सामान्य छ । आइतबबार बेलुकी कोभिड वारियर्सको टोलीसँगै घरमै पुगेकी प्रसूति रोग विशेषज्ञ डाक्टर दिप्ती यादवले पनि उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।
संक्रमित गर्भवतीलाई नारायणी अस्पताल पठाइएको उपचारमा सहयोग गर्दै आएका सिएमए जितेन्द्र शर्माले जानकारी दिए । ‘गाडी पठाउँछु, संक्रमितलाई अस्पतालमा पठाइदिनुस् भनेर हिजै राति नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्डको फोन आएको थियो,’ उनले भने, ‘बिहान गाडी पठाउनुभएछ, आएर लिएर गएका छन् ।’
संक्रमित महिलाको छेउमा घाउमा इन्फेक्सन भएका बिरामी राखिएकोले रगत बगिरहेको हुँदा डर लागिरहेको गुनासो उनले गरेको शर्माले बताए । यसबारे अस्पतालमा जानकारी गराइसकिएको र समस्या समाधान गर्ने आश्वासनसमेत पाएको शर्माको भनाइ छ । onlinekhabar