
पञ्चपुरीे नगरपालिकाले एक वडा एक प्राविधिक हुने गरी काममा खटाएको छ । वडास्तरबाट हुने विकास आयोजनालाई समयमै लागत अनुमान दिन र काम शुरु गर्न समस्या भइरहेकाले नगरपालिकाका ११ वटै वडामा एक एक जना प्राविधिक खटाइएको हो ।
कुनै पनि योजना बन्दा सम्बन्धित वडाबाटै स्थलगत अनुगमन गरी लागत अनुमान बनाउन सकिने तथा योजना सम्पन्न हुँदा पनि सोही वडाका प्राविधिकले स्थलगत अनुगमन गर्ने गरी कामको जिम्मा लगाइएको नगरपालिका का इन्जिनियर नरेन्द्र भण्डारीले जानकारी दिनुभएको छ ।
नगरपालिकाले वडा नं १ मा डिल्ली अधिकारी, वडा नं २ र ३ मा गणेश कार्की, वडा नं ४ र ६ का लागि मानबहादुर बुढा, वडा नं ५ मा प्रतीक्षा कुमारी थापा, वडा नं ७ मा शुरेन्द्र बोहोरा, वडा नं ८ र ९ मा झक्कड थापा र वडा नं १० र ११ का लागि लक्ष्मीकान्त सन्याल लाई जिम्मेवारी तोकेको छ । त्यसैगरी नगरपालिकाले वडा नं २, ३,४, ६, ८ र ९ मा नरेन्द्र भण्डारी र वडा नं १, ५, ७, १० र ११ मा रुपेस केसीले संयुक्त मुल्यांकन गर्नेे गरि ईन्जिनियर समेत तोकेको छ ।
कामको मूल्याङ्कन समयमै नहुने बिकासको काम ढिलो हुने र उपभोक्ता समितिले धेरै दुख पाएको जनगुनासो आएको, योजनाका कामका लागि नगरपालिकाबाट प्राविधिकको टोलीले सबै काम गर्न सम्भव नभएपछि वडामै प्राविधिक रहने व्यवस्था गरिएको नगरप्रमुख उपेन्द्रबहादुर थापाले जानकारी दिनुभएको छ । साथै थापाले अहिले नगरपालिकामा भएका प्राबिधिकको बाडफाड गरिएको र पछि कर्मचारी थप गरेर कार्यभार कम गर्ने जानकारी दिनुभएको छ ।
हरेक बिकास निर्माणको भुक्तानी असारमा गरिने परिपाटि लाइ अन्त्य गर्नका लागि यो बर्ष समयमै काम सम्पन्न गर्ने योजना रहेको नगरपालिका का निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहन बहादुर बुढाले बताउनुभयो । नगरपालिकाले योजना को लागत अनुमान तयार गर्न सुरु गरेको छ ।