Uncategorized

नामको पछाडि राज र पदको अगाडि राज = युवराज !

[mashshare]

काठमाण्डाै – महाराज र युवराज उहिले पनि थिए, अहिले पनि छन् । फरक यति हो–उहिलेका महाराजले श्रीपेच लगाउँथे, अहिलेका महाराजले घोचपेच र दाउपेच लगाउँछन् । पहिलेका महाराजका युवराज उत्तराधिकारी हुन्थे, अहिलेको महाराजका युवराज ‘खतिवडा’ छन् । नरुचाइएका युवराज पारस, रुचाइएका युवराज ‘खतिवडा’ ! त्यसैले यत्रतत्र सर्वत्र राज गर्न सक्ने ह्याउ युवराजको मात्रै छ । 

सत्य र अकाट्य कुरा यही हो । हुनुपर्ने र भैरहेको पनि यही हो । यति जान्दाजान्दै पनि तपाईं हामी महाराज र युवराजको आरिस गर्छौं । त्यसैत्यसै मुर्मुरिन्छौं । विरोध र आलोचना गर्छौं । प्रधानमन्त्रीले आफ्नो मान्छेलाई च्यापे भनेर मुख अमिलो बनाउँछौं ।युवराज चाहिँ यत्रतत्र सर्वत्र हुने, कुलमान चाहिँ बिजुली अड्डामा दोहोरिन किन नहुने भनेर हिरा र किरा दाँज्न खोज्छौंं ।

अरुको भाग्य भावीले लेखे पनि खतिवडाको त ओलीले लेख्दा रहेछन् भनेर मुखको तीतो फाल्छौं । युवराज चाहिँ यत्रतत्र सर्वत्र हुने, कुलमान चाहिँ बिजुली अड्डामा दोहोरिन किन नहुने भनेर हिरा र किरा दाँज्न खोज्छौंं । राजदूत हुने क्षमता र योग्यता भएका मान्छे अरु पनि थिए, तर किन तिनै युवराज चाहियो भनेर तुक न बेतुकको प्रश्न गरेर आफैंलाई मुर्ख बनाउँछौं । 

कुलमान र युवराजलाई दाँज्न खोज्नु भनेको कुरो नबुझ्नु हो । कुरो बुझेर पनि बुझ पचाउनु हो । शब्दका अर्थ केलाउन नसक्नु हो । स्पष्ट शब्दमा एकपाखे हुनु भनेकै यही हो ।

एकपटक शब्दलाई गहिरिएर बुझौं । नामै युवराज । युवराज भनेको महाराजको जेठो छोरो, राज्यको उत्तराधिकारी । जहाँ पनि राज गर्न सक्ने खुवी बोकेको मान्छे । यसअघि राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष, राष्ट्र बैंकमा गभर्नर, राष्ट्रियसभा सदस्य, अर्थमन्त्री, आर्थिक सल्लाहकार भैसकेको उच्च ओहोदाको व्यक्ति । 

राष्ट्र र अर्थ जोडिएका ठाउँमा अट्न सक्ने मान्छे आफ्नै नामसँग जोडिएको अर्को ठाउँमा किन अट्न सक्दैन ? युवराज र राजदूत । युवराज भनेको पनि राज गर्ने मान्छे, राजदूत भनेको पनि राज गर्ने पद । अगाडिबाट युवराज, पछाडिबाट राजदूत, नामको पछाडि राज, पदको अगाडि राज ! जताबाट पनि नाममै राज झुण्डिएको मान्छे जुनसुकै साल, महिना, काल र बेला पनि राज गर्ने ठाउँमा हुनैपर्छ भन्ने नबुझ्नु एकलकाटे आग्रह हो, मुर्खता हो । यो उल्टो बुझाई हो, कुतर्क हो, अशिष्ट र असभ्य सोचाइको प्रतिफल हो । 

नामले त सबैतिर राजकाज गरेर भ्याउन लागे । नामपछि थरको पालो पनि आउला । थरमा वडा झुण्डिएको छ, खतिवडा । खति भनेको त नोक्सानी, क्षति पनि हो । केन्द्रीय तहका सबै ठाउँमा राज गरेर वडाको पनि जिम्मेवारी सम्हाल्ने गए भने त्यसले के कस्तो खति गर्छ भन्नेतिर नलागौं । कामले भन्दा पनि नामले अद्भूत क्षमता भएका मान्छे भन्ने अर्थमा बुझौं ।कुलमानलाई कुलले र जनजनले मानेको । यी मान्छे रहँदा बत्ती जाँदैन भनेर सबैले जानेको । तर नागरिकले मात्र मानेर र जानेर हुँदैन ।

भोलिपर्सि प्रधानसेनापति या पशुपतिनाथको भट्ट पुजारी हुँदै वडा सदस्य पनि बने भने आश्चर्य नमानौं । बरु सबैले जीवनमा एकपटक युवराज खतिवडा जत्तिको रजगज गर्ने सपना देखून् । दशैँमा यही आशीर्वाद लेनदेन होओस् । अनि बल्ल नागरिकको जीवनमा खुशीयाली छाउँछ । देशमा भनेजस्तै समृद्धि आउँछ । 

कहाँका युवराज, कहाँका कुलमान ! यत्रतत्र सर्वत्र राज गर्न सक्ने मान्छे युवराज, कुलले मात्र मान्ने मान्छे कुलमान । कुलमानलाई कुलले र जनजनले मानेको । यी मान्छे रहँदा बत्ती जाँदैन भनेर सबैले जानेको । तर नागरिकले मात्र मानेर र जानेर हुँदैन । सरकार चलाउनेले मान्नु पर्यो नि । अनि सरकारलाई मनाउन जान्नु पर्यो नि ।

बत्ती हुँदा भन्दा नहुँदा फाइदा हुनेहरुलाई खुशी बनाउन सक्नु पर्यो नि । नागरिकलाई मात्रै खुशी बनाउने, सरकारलाई खुशी बनाउन नसक्ने, प्रधानमन्त्री र मन्त्रीहरुको मान राख्न नसक्ने मान्छे कुलमान मात्र भएर के गर्नु ? प्रधानमन्त्री र मन्त्रीले भनेको मान्ने पनि हुनु पर्यो । त्यसैले अरुलाई दश, दश फेर नियुक्ति दिन मिल्छ, कुलमानलाई दोहोर्याउन मिल्दैन ।

त्यसमाथि कुलमानको ठाउँमा फेरि कुलमान त के युवराज पनि फिट हुन नसक्ने अवस्था भैसक्यो । कुलमान छोडेर हिँडेदेखि बिजुली बत्ती कुलमानसँगै आँखा झिम्क्याउन गएको छ । प्राधिकरणका मान्छे भन्छन्, मुसाले बिगारेर यस्तो भएको हो । भनेपछि मुसा मार्न सकियो भने मात्र बत्ती आइरहन्छ । मुसा मार्न न कुलमानले सक्छन्, न अर्को मान्छे या क्षमतावान युवराजले नै । मुसा मार्न त बिरालो चाहिन्छ । बिजुली अड्डाको कुनाकुना, पोलपोलमा म्याउ गर्न सक्नुपर्छ । सबैतिर फिट हुन सक्ने युवराजजस्तै बिजुली अड्डामा म्याउ गर्न सक्ने ह्याउ कसैको होला त ? ujyaalo

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close