समाचार

विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हट्यो

[mashshare]

दार्चुला – दार्चुला व्यास नगरपालिका -१ छाङरुवासीलाई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत-जावत गर्न सजिलो भएको छ । 

नेपाली सेनाले घाँटीबगड-छाङरु गोरेटोरघोडेटो बाटो खनेर सोमबार पालिकालाई हस्तान्तरण गरेपछि त्यस क्षेत्रका जनतालाई महाकाली वारि किनारै- किनार भएर आवत-जावत गर्न सुविधा भएको हो । घोडेटो बाटो पूर्णरुपमा सञ्चालमा आएसँगै अबदेखि देशको एक ठाउँबाट अर्को ठाउँको यात्रामा रहँदा विदेशी भूमिको प्रयोग गर्न पर्ने बाध्यता हटेको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिनुभयो ।

सदरमुकामदेखि घाँटीबगड हुँदै छाङरु जाने बाटो ३ वर्षदेखि अवरुद्ध भएपछि  विदेशी भूमि प्रयोग गर्नुपर्ने  त्यहाँका स्थानीयलाई बाध्यता थियो । त्यही बाध्यता अन्त्य गर्न गएकाे जेठ  २६ गते बाटो निर्माण  सुरु  गरेको सेनाले चार महिनाको भगीरथ प्रयासपछि विकट पहरा छिचोलेर स्वदेशी भूमिबाटै स्थानीयलाई यात्रा गराउन सफल भएको हो ।

प्रतिकूल मौसम, विकट इलाका र कठोर चट्टानलाई विष्फोटक पदार्थ प्रयोग गरी एक करोड ८ लाख ३६ हजारको लागतमा २ मिटर चौडा र ५५० मिटर लामो बाटो निर्माण गरिएको सेनाले जनाएको छ । त्यस बाटोका लागि सेनानीको नेतृत्वमा ६५ सैनिक परिचालन गरिएको थियो भने ३३ जना गैर सैनिक नागरिक अहोरात्र खटिएका थिए । 

हस्तान्तरण कार्यक्रममा  प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले जटिल परिस्थितिमा पनि सेनाले उत्कृष्ट काम गरेको बताउनुभयो । उहाँले त्यस क्षेत्रको  विकासमा सेनाबाट थप योगदान पुग्ने हुने विश्वास व्यक्त गर्नुभयो । बाटो निर्माण गर्ने क्रममा स्थानीय देवानसिंह धामीको ढुङ्गा लागेर मृत्यु भएको थियो । त्यस अवसरमा बीमा बापतको १० लाख रुपैयाँको चेक र  योगदानको उच्च मुल्याङ्कन गर्दै प्रधानसेनापति प्रशंसा निशान उहाँकी पत्नी लक्ष्मी धामीलाई प्रदान गरिएको थियो । 

बाटो सञ्चालनमा आएसँगै त्यस क्षेत्रका १८४ घरधुरीका १ हजार २५० जनालाई हिड्न र पशु चौपाया ल्याउन पुर्याउन सहज भएको जनाइएको छ । त्यस मार्गको तम्पाकु खण्डमा  सजिलोसग आवत-जावत गर्न केही कठिनाइ रहेकाले त्यसमा पनि सेनाबाट काम होस् भनी स्थानीयले अनुरोध गरेकामा महाकाली करिडोर (दार्चुला-तिङ्कर) निर्माणका क्रममा त्यस क्षेत्रलाई प्राथमिकता दिने सेनाले विश्वास दिलाएको छ । 

अति विकट भौगोलिक अवस्थाका कारण हेलिकोप्टर र साहसिक सैनिक परिचालनबाट मात्रै छोटो समयमा निर्माण सम्भव भएको सेनाले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close