मकैको खलियामा भेटिए लाखौं नक्कली नोट

चितवन प्रहरीले मकवानपुरको राक्सिराङस्थित एक घरको मकै खलियाबाट लाखौं रुपैयाँ नक्कली नोट बरामद गरेको छ।
राक्सिराङ गाउँपालिका–८ हलिजेस्थित जितबहादुर लोप्चनले खलियामा लुकाइराखेको १ हजार रुपैयाँका ३०२ थान नक्कली नोट बरामद गरिएको चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले जानकारी दिए।
राक्सिराङको हालिजे क्षेत्र गाँजा खेती धेरै हुने क्षेत्रमा पर्दछ। यहाँ केही घरमात्र भएपनि यस क्षेत्रमा ठूलो परिमाणमा गाँजाको खेती हुँदै आएको छ। प्रहरीको आशंका गाँजाको कारोबारमा नक्कली नोटको प्रयोग भएको भन्ने छ।
यसरी भेटियो नक्कली नोट
कात्तिक ७ गते दिउँसो चितवनको राप्ती नगरपालिका–५ भण्डारामा सामान किन्ने क्रममा नक्कली पैसा दिई मानिस फरार भएको सूचनाको आधारमा प्रहरीले अनुसन्धान सुरू गरेको थियो। प्रहरी निरीक्षक राजिव गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा सोही वडाको चौकीडाँडाबाट १२ थान नक्कली नोटसहित लोप्चनलाई नियन्त्रणमा लिएको थियो।
ती व्यक्तिले भण्डारास्थित युनिक होटलमा खाजा खाएबापत बुझाएको १ हजार रुपैयाँ र बर्तौला किराना पसलबाट खाद्यान्न सामान किनेबापत बुझाएको ६ हजार रुपैयाँ बरामद गरेपछि प्रहरीले उनी नक्कली नोटको कारोबारी रहेको आशंका गरेको थियो।