‘परिस्थितिकाे ख्याल गर्दै चाडपर्व मनाउन ’ स्वास्थ्यमन्त्रीकाे आग्रह :

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गर्नुभएको छ ।
बडादशैँका अवसरमा आइतबार शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको जनाउँदै कोरोना रोगको रोकथाम तथा नियन्त्रणका लागि मास्कको उचित प्रयोग, भौतिक दुरी कायम र पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नु नै उचित उपाय भएको स्मरण गराउनुभएको छ ।
‘दशैँ लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनर्मिलनको चाड हो, आफन्तका बीचमा भेटघाट र शुभकामना आदान–प्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाइने आशीर्वाद लिने र दिने मानवीयताको चाड हो’, मन्त्री ढकालले भन्नुभएको छ, ‘यस्ता चाड मनाइरहँदा विगतमा पनि हामीले स्वास्थ्य, मित्रता र सामाजिक शान्तिलाई ध्यान दिने तथा छिमेकीलाई प्रतिकूल नहुने गरी मनाउने गरेका हौँ । यस पटक कोरोना महामारीका कारण अझै बढी ध्यान दिनुपर्ने देखिएको छ ।’
मन्त्री ढकालले महामारीविरूद्धको लडाइँँमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कार्यमा नागरिकबाट प्राप्त साथ सहयोगप्रति आभार व्यक्त गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न स्वस्थ नागरिकको उत्पादनमा ध्यान दिँदै निरोगी नेपालका लागि काम अघि बढाइएको पनि जनाउनुभएको छ ।