मनाेरञ्जन

कथा : त्यसपछि जिन्दगी

[mashshare]

त्यसपछि मेरो जीवन कहिल्यै नसोचेको बाटोतिर मोडियो । चाहेका बेला आत्महत्या गर्न पाएको भए मेरो जीवन टुंगिएको दश वर्ष बितिसकेको हुने थियो ।

विगतलाई फर्केर हेर्दा आफैंले बेहोरेका घटनाहरू आफैंलाई काल्पनिक लाग्छन् । एउटा गुन्डाको नजरमा नपरेको भए, परिवारले साथ दिएको भए, प्रहरीमा गएको भए वा दीपकले विवाह गरेको भए आज म अर्कै बिमला हुन्थेँ होला ।

०००

‘गुड मर्निङ !’

वसन्त ऋतुको एकबिहान क्याम्पसतिर गइरहेका बेला अपरिचित नम्बरबाट एसएमएस आएको थियो ।

महेन्द्र बहुमुखी क्याम्पसतिर सोझिएको बाटोको बायाँ किनारमा मेरा पाइलाहरू चलिरहेका थिए । सोचे कि कसैले झुक्किएर एसएमएस पठायो वा कोही कलेजको साथीले सम्झेको हुनुपर्छ । जवाफ दिन जरुरी ठानिनँ ।

‘गुड इभिनिङ्, म तिमीलाई प्रेम गर्ने मान्छे हो ।’

साँझपख उही नम्बरबाट अर्काे एसएमएस आयो ।

भानु बोखिम

यसपाली म बिहानझैं सामान्य रहन सकिनँ । कोठामा एक्लै बसेको थिएँ । दिउँसो किनारमा झुन्डिएको पर्दाले झ्यालको पुरै क्षेत्रफल ढाकिसकेको थियो । मलाई लाग्यो, यो एसएमएस कसैले जानीबुझी पठाइरहेको छ । थोरै पर्दा तानेर अगाडि नियालेँ तर त्यो बेकारको प्रयास थियो ।

मैले तुरून्तै नम्बर डायल गरेँ, तर उठेन । एक घन्टाको अन्तरालमा चारचोटी फोन गरे तर उठेन । म साँझको समय नियमित पढ्ने र नोट बनाउँने गर्थे । तर आजको तालिका एसएमएसले बिथोलिदियो । अबेरसम्म निदाउन सकिनँ । बिहान त्यसैको ह्याङओभर लिएर ब्युझिएँ ।

‘गुड मर्निङ, राम्रोसँग क्याम्पस जाऊ ।’

हिजो जहाँ एसएमएस आएको थियो, आज त्यही ठाउँमा पुग्दा फेरि आयो । मलाई लाग्यो यो मान्छे यतैकतै बस्छ । मैले वरिपरि टाउको घुमाएर हेरेँ । धेरै मान्छे हिँडिरहेका थिए । सडकमा हाम्रो क्याम्पसको ड्रेस लगाउने अरू विद्यार्थी पनि हिँडिरहेका थिए । मैले चिनेका भने थिएनन् ।

क्याम्पस पुगेपछि मैले एसएमएसको घटना नजिकका साथीहरूलाई सुनाएँ । कुरा सुनेर दीपक तात्तियो । पुरा नाम दीपक महतारा, ऊ जाजरकोटको थियो ।

मलाई थाहा छ, दीपकले मलाई मन पराउँछ तर खुलेर भन्न सक्दैन । म भने उसको चाहना नबुझेझैं गर्थें । ऊ आजको माहोललाई आफ्नो पक्षमा पार्न चाहन्थ्यो ।

‘त्यसलाई ठीक पारिहाल्नुपर्छ’, आफ्नो मोबाइल झिक्दै ऊ बोल्यो, ‘त्यसको नम्बर देऊ त बिमला ।’

मैले नम्बर दिएँ । उसले डायल गर्‍यो, तर उठेन । पटक–पटक डायल गर्दा पनि उठेन । त्यसपछि दीपकले हामी सबैलाई क्यान्टिनमा लिएर गयो । चिया खाँदै फेरि अर्काे साथीको नम्बरबाट डायल गर्‍यो । यसपालि पनि फोन उठेन ।

‘भेटेको दिन यसको खुट्टा भाँच्नुपर्छ’, दीपकले साथीको फोन फिर्ता दिँदै भन्यो ।

म सधैंकै समयमा कलेजबाट फर्किएँ । आउँदा भाउजूूले खाना तयार पार्नुभएको थियो । दाजु अफिस जानुभएको थियो । खाना खाएर आफ्नो कोठामा गई ओछ्यानमा के पल्टेकी थिएँ, एसएमएसको संकेत बज्यो–

‘यो नम्बरबाट तिमीलाई मात्र एसएमएस पठाएको छु । मैले कसैलाई दिएको छैन । आज केही नयाँ नम्बरबाट फोनकल आएको थियो । त्यो नम्बरहरू तिम्रो आफन्त वा साथीहरूको हो भन्नेमा पक्का छु । अबदेखि यो नम्बर अरूलाई नदिनू । कल गरेपनि उठ्ने छैन ।’

लामो एसएमएस पढेर चकित भएँ । मलाई लाग्यो, यो मान्छेले शाहरूख खानको फिलिम धेरै नै हेरेको छ । फेरि बाहिरतिर नियालँे, सडकमा मान्छेहरू हिँडिरहेका । त्यहाँ यो एसएमएस पठाउने पनि छ कि ?

ठम्याउन त्यति सजिलो थिएन । बेचैनी भने बढ्दै गइरहेको थियो ।

म पहाडबाट पढ्नकै लागि नेपालगन्ज झरेकी हुँ । सबै कुरा दाजु–भाउजूूलाई सुनाउन उचित ठानिनँ । सुनाएको भए मलाई दाजुभाउजूूले अब विवाह गर्नपर्छ भन्दै अर्घाखाँची पठाइदिन सक्थे । उसमाथि मेरो विवाहको कुरा चल्न थालेकै थियो ।

दाइभाउजूू अनि बुबाआमालाई मेरो पढाइको भन्दा विवाहको चिन्ता बढी थियो । मलाई भने भने पढेर, लोकसेवा पास गरेर सरकारी अधिकृत बन्नु थियो ।

म दिनानुदिन आउने एसएमएसले आजित हुन थालेकी थिएँ । मैले उसलाई लेख्न बाँकी कुनै गाली थिएन । मेरो साथीहरूको समूह पनि मान्छे पत्ता लगाउन लागिपरेका थिए, तर भेउ पाइरहेका थिएनन् ।

ऊ कहिले सायरी लेखेर पठाउँथ्यो । कहिले विवाहको मिति तोकेर पठाउँथ्यो । ऊ एसएमएसमा सीमित थियो । न कल गरेको थियो न त मेरो फोन उठाउथ्यो ।

एसएमएस आउन थालेको १०–१२ दिन भएको थियो । मध्य दिनको समय, म किताब च्यापेर बसिरहेकी थिएँ । ध्यान भने किताबमा थिएन । अचानक टेबल माथिको मोबाइल–फोन बज्न थाल्यो । हेर्दा त्यही नम्बर नाचिरहेको थियो । मलाई अनौठो लाग्यो ।

सेलफोन उठाएर कानमा टाँसे, तर केही बोलिनँ । एकछिन सन्नाटा छायो ।

–हेलो !

उतैबाट महिलाको आवाज आयो ।

–हजुर । मैले भनें ।

–विमला जी हो ?

–हो, म बिमला नै हो । तपाईं को नि ?

–तपाईलाई बारम्बार जसले एसएमएस पठाइरहेको छ नि, म उसको श्रीमति हो ।

म झसंग भएँ । मलाई प्रेम गर्छु भन्ने पहिल्यै विवाहित छ । झस्काउने कुरा अरू पनि भए । ती महिलाका अनुसार उनको श्रीमान कुनै समयका नामुद बब्लु दादा हुन् । ‘बब्लु’ भनेपछि नेपालगञ्जमा सबैले चिन्थे ।

उसको दादागिरी अहिले घटेपनि शत्रु घटेका छैनन् । उसले प्रेमको नाममा एकाध दिन रमाइलो गरेर धेरै महिलालाई छोड्यो । र, अहिले मेरो पछि लागेको छ ।

ती महिलाले आज श्रीमानले मोबाइल बिर्सेकाले फोन गरेको बताइन् । फोन राखेपछि म सितांग भए । मलाई कहिले भोलि होलाजस्तो भयो । मलाई आजको दिनजस्तो बोझिलो कहिल्यै लागेको थिएन । मानौं, समय रोकिएको छ । त्यो दिन साँझको प्रतीक्षा, साँझपछिको रात र रातपछि भोरको प्रतिक्षा बर्षाैंझैं लाग्यो ।

बिहान डर मानीमानी क्याम्पस पुगेँ । बब्लुले मलाई बाटैमा केही गर्छ कि जस्तो लाग्यो । पहिलो घन्टीमै साथीहरूलाई क्यान्टिन जाऊँ भनेँ । पढ्ने मन गरिरहेका उनीहरूलाई मनाएर क्यान्टिन लगेँ अनि बब्लुको कुरा सुनाएँ ।

मेरो कुरा सुनेपछि सबैको होस् उड्यो । दीपक पनि केही बोल्न सकिरहेको थिएन । सबभन्दा बढी त्राश प्रियंका चतुर्वेदीको आँखामा छल्कियो । हामीमध्ये प्रियंका नेपालगञ्जकी थिइन् ।

‘बिमला, तिमी चिन्ता नलेऊ’, चियाको गिलास टेबलमा रगट्दै दीपक बोल्यो, ‘छुट्कारा पाउने उपाय खोजौला ।’

म चियाको गिलास पकडेर बसेकी थिएँ ।

‘त्यो मान्छे डेन्जर छ’, प्रियंकाले भनिन्, ‘त्यसको नामले नेपालगञ्ज नै हल्लिन्छ ।’

प्रियंकाले बब्लुको इतिहास, उमेर, हुलिया सबै बताइन् । मेरो मस्तिष्कमा बब्लुको डरलाग्दो आकृति बन्यो ।

हाम्रो घर अगाडिको पसलमा चिया खाने मान्छे बब्लु हो भन्ने कुरा डराउँदै क्याम्पसबाट फर्किएको त्यही दिन थाह भयो । ऊ निकै मोटो र अग्लो थियो । मैले उसको आँखा नै डर लाग्दो पाएँ । उमेर मभन्दा १०–१५ बर्ष बढी । यति नराम्रो मेरा कुनै साथी थिएनन् ।

म बब्लुबाट मुक्ति खोज्न थालेँ । त्यतिकैमा मैले विवाह गर्ने सोच पनि बनाएँ– अब बुबाआमाले भनेको मानेर विवाह गर्छु, नेपालगञ्ज छोड्छु ।

बब्लु हरेक दिन एसएसएम पठाइरहन्थ्यो । एसएसएसको सार हुन्थ्यो– ऊ मलाई भयंकर प्रेम गर्छ र कुनैपनि हालतमा प्राप्त गरेर छोड्छ ।

मिस्टर बब्लु, मैले तँलाई चिनिसकेकी छु । तेरो इतिहासदेखि वर्तमानसम्म पत्ता लगाएको छु । एकपल्ट फोन गर । सीधा कुरा गर्नु छ ।

एक दिन मैले जवाफ पठाएँ । एकैछिनमा मोवाइल बज्न थाल्यो । स्क्रीनमा उसको नम्बर नाचेको केही समय हेरेँ अनि रिसिभ गरेर भनें– ‘तैँले खोजेको के हो ?’

‘किन रिसाएको ? म त तिमीलाई प्रेम गर्छु ।’

‘गर्छस् प्रेम ? आजसम्म कतिजनाको जिन्दगी बर्वाद पारिस् ?’

‘अरूको कुरा छोड, म तिमीलाई प्यार गर्छु ।’

‘बढ्ता कुरा नगर्’, मैले भनेँ, ‘मलाई पनि अरू केटीजस्तो नठान्, तेरो खुट्टा भाँचेर खोलामा फाल्दिन्छु ।’

‘खोलामा फाल्दिने ?’ उसको आवाज अलि ठूलो भयो, ‘अहिलेसम्म मलाई चिनिसक्यौ होला । मैले चाहेँ भने, तु का तु घँसिटेर ल्याउन सक्छु ।’

‘के रे..?’

‘आवाज कम गर’, उसले भन्यो, ‘तिम्रो विवाह हुने कुरा मलाई थाहा छ । तर सम्झिनु, बब्लुबाहेक अरूसंग तिम्रो विवाह हुँदैन । भइहालेछ भने सम्झिनु कि त्यो दुलाहाको तस्वीरमा चाँडै नै फूलको हार चढाउनु पर्नेछ ।’

यति भनेर उसले फोन राख्यो । म पसिनै पसिना भएँ । झ्यालबाट बाहिर नियालेँ, तर उसलाई देखिनँ । मेरो दिमाग फनफनी घुमिरहेको थियो । पंखाको स्वीच दबाएँ । कोठाको मध्य सिलिङमा झुन्डिएको पंखा पनि मेरो दिमागझैं फनफनी घुम्न थाल्यो ।

एकमात्र उपाय देखेँ– अब मैले नेपालगञ्ज छाड्नुपर्छ । बुबालाई फोन गरेर विवाह गर्न राजी छु भने । केही दिनमै घरबाट खबर आयो । म अर्घाखाँची फर्किने तरखरमा लागेँ ।

इच्छा थिएन, तर विवाह नै मेरो लागि उत्तम विकल्प बन्यो । श्रीमानले पढ्न दिएछन् भने पढौला नत्र गृहिणी भएरै बसांैला भन्ने सोच बनाएँ ।

मनमा कुरा खेलाउँदै म प्रियंकाको घरतिर गइरहेको थिएँ, अचानक बब्ललेु बाटो छेक्यो । उसलाई देख्नेबित्तिक्कै मेरो शरीरमा कम्पन सुरु भयो ।

‘बिमला, राम्रोसँग सम्झाएको कुरा बुझिरहेको छैनौ’, उसले भन्यो ‘तिमी मेरोबाहेक अरू कसैको हुन सक्दैनौ ।’

‘तैले सक्ने तँ गर, मैले सक्ने म गर्छु । अहिले मेरो बाटो छोड्’, साहस बटुलेर भनेँ ।

मभित्रको डर बब्लुले नदेखोस् भनेर त्यहाँबाट हिँडिहाले । ऊसले लखेट्छ भन्ने डर थियो, तर बाटोमा मान्छेहरू हुनाले केही गर्न सक्दैन भन्ने लाग्यो । म पछाडि नफर्की प्रियंकाको घर पुगेर सबै कुरा भने ।

‘फिलिम हेर्न नजाऊँ’, प्रियंकाले भनी, ‘बब्लुले पछ्याउन सक्छ ।’

खासमा आज हाम्रो फिलिम हेर्ने योजना थियो, तर अब कोठामै बस्ने भइयो । करिब दुईघन्टा जतिमा दाइको फोन आयो ।

‘तँ कहाँ छेस् ?’

दाइको आवाजमा बेचैनी थियो ।

‘साथीकोमा छु ।’

‘तुरुन्तै घर आइहाल त, कुरा गर्नु छ ।’

‘हुन्छ ।’

प्रियंका मलाई पुर्याउन बिपी चोकसम्म आइन् । त्यहाँबाट रिक्सा चढेर घरतिर लागेँ । बैठक कोठामा दाइभाउजूू बसिरहनुभएको थियो । उहाँहरूको मनमा आँधीहुरी चलिरहेको अनुहारबाटै ठम्याएँ ।

मैले दिनको समयमा दाइभाउजूूलाई यसरी एकसाथ कहिल्यै देखेकी थिइनँ । अफिस टाइममा दाइलाई घरमा देखिनु नै ठुलो रहस्य थियो । म धक मान्दै सामुन्ने गएर उभिएँ ।

‘तेरो गोरुको जत्रा फुटेका थे ?’

दाइ कड्कनु भयो । उहाँले बब्लुको कुरा थाहा पाएको ठम्याएँ, तर शान्त हुदै बोले, ‘के भो र दाइ ?’

‘कोही केटा नपाएर गुन्डाको पछि लागिस् ?’

दाइ अझ कड्किनुभयो ।

‘म हैन, त्यो पछि लागेको हो ।’

‘त्यसले खेदो गरिरहेको भए, बुबाको नम्बर कसरी भेट्यो ?’ दाइ अझ कड्किनुभयो ‘तैंले नै दिएको होस्, बुबाको नम्बर त्यसलाई ।’

दाइ एकोहोरो कराउनु भयो, अनि फनफनिँदै कोठाबाट बाहिरिनुभयो ।

तुलनात्मक रूपमा भाउजूू शान्त हुनुहुन्थ्यो । मैले भाउजूूलाई पनि त्यही कुरा दोहोर्‍याएँ, जुन यथार्थ हो ।

‘नानी, त्यसले बुबा, केटाको पनि नम्बर कसरी पत्ता लगायो त ?’ भाउजूले भन्नुभयो, ‘त्यसले केटा र बुबा दुबैलाई धम्की दिइसक्यो रे !’

म तीन–चार दिनदेखि विवाह हुने केटासँग कुरा गरिरहेकी थिएँ । उसको नाम प्रकाश आचार्य हो । ऊ अहिले बुटबलमा बसेर काम गर्दैछ । हामीबीच राम्रै कुरा भइरहेको थियो । हामी फेसबुकमा पनि साथी भइसकेका थियौं ।

बब्लुले उसको र बुबाको नम्बर कसरी पत्ता लगायो ? योचाहिँ मलाई पनि आश्चर्य लाग्यो । दाइलाई मैले नै ति नम्बर बब्लुलाई दिएको भन्ने लागेको थियो ।

आफ्नो कोठामा गएर तुरुन्त बब्लुलाई फोन लगाएँ । दोश्रो रिङमै उसले उठायो अनि सधैंझैं नरम आवाजमा भन्यो, ‘हेलो, विमला ।’

‘तँ डाँकाको मैले के खाइदिएको थिए ? किन मेरो पछि लागेको छस् ?’

‘बिमला, मबाहेक तिम्रो कोही हुन सक्दैन । अर्को कुरा, म तिमीलाई दुनियाँको सबै केटाले भन्दा बढी सुखमा राख्छु ।’

‘दिन्छस् सुख । तँलाई कसरी ठीक पार्नुपर्छ, मैले जानेको छु ।’

यति भनेर फोन राखेँ तर शान्त हुन सकिनँ । वास्तविकता नबुझेकोमा दाईसंग चित्त दुखिरहेको थियो । अब प्रकाशलाई भन्न धेरैचोटि फोन गरेँ, तर उठाएन । फेसबुकमा म्यासेज गर्दा पनि जवाफ आएन । म

निकै बेचैन थिएँ । सबैलाई सम्झाउन सक्छु भन्ने विश्वासचाहिँ थियो ।

साँझतिर प्रकाशको फोन आयो । मैले खुशी भएर उठाएँ, ‘हेलो प्रकाश ।’

‘किन फोन गरेको ?’ उसले रूखो आवाजमा भन्यो ।

‘साँचो कुरा भन्नु थियो । तपाईंले सुनेको कुरा सत्य हैन ।’

‘साँचो कुरा बुझिसकेको छु । मलाई त्यो गुन्डासँग सुतेको ज्यान चाहिएको छैन । त्यहिसँग मस्ती गर्दै हिँड्नू ।’

त्यसपछि उसले फोन काटिहाल्यो । फोन राखेको भन्दापनि उसले लगाएको आरोपले म आहत भएँ । मलाई लागेको थियो, प्रकाशले मेरो कुरा बुझ्छ, साथ दिन्छ । तर, सोचेभन्दा उल्टो भयो ।

अब मेरो अन्तिम आशा बुबा हुनुभयो । बुबाले फोन उठाउने बित्तिक्कै भन्नु भयो, ‘तँ हाम्रो लागि मरिसकिस्, हामीपनि तेरो लागि मर्‍यौं ।’

एकातिर गुन्डाको धम्की, अर्काेतिर परिवारको असहयोग र लान्छना । म ज्यादै आहत भएँ । यो बेला खै किन हो दीपकको सम्झना आयो । मैले उसलाई भेट्न बोलाएँ । ऊ आयो पनि ।

चियाको गिलास टेबलमा राख्दै सोधेँ, ‘दीपक, तिमी मलाई माया गर्छाै ?’

‘भन्नमात्र नसकेको हो । क्याम्पसमा भेटेदेखि नै म तिमिलाई मन पराउँछु ।’

‘त्यसो भने मलाई भगाएर कतै लैजाऊ । म बब्लुबाट मुक्ति चाहन्छु ।’

‘अहिले त कसरी सम्भव छ र ?’

दीपकले आफ्नो निष्कर्ष पनि सुनायो– ऊ मलाई विवाह गर्न तयार छ, तर उसले जागिरपाइञ्जेल मैले प्रतिक्षा गर्नुपर्छ । मलाई भने तत्कालै नेपालगञ्ज छाड्नु थियो ।

दाइसँग बोलचाल बन्द भएको थियो । दाइ नभएको बेला भाउजू अलिअलि बोल्नुहुन्थ्यो तर उहाँले केही गर्न सक्नु हुन्थेन । मेरा लागि दिन पनि रातजस्तो पुरै अँध्यारो भएको थियो । क्याम्पस जान छोडेको थिए । बाहिर निस्कन मन लाग्दैन थियो । बब्लुको म्यासेज र फोन भने आइरहेकै थियो ।

आजित भएर आत्महत्या गर्ने निर्णय गरेँ । भोलिपल्ट बजारबाट डोरी ल्याएर सिलिङ फ्यानमा झुन्डिन तयार भएँ । पासो हाल्ने बेलामा एकाएक लाग्यो– म यत्तिकै मर्नु हुँदैन । बब्लुलाई ठिक नपारे त्यसले मजस्ता अरू केटीको जीवन पनि बर्बाद पार्छ ।

अनि बब्लुकै घरमा आत्महत्या गर्ने निधो गरेँ । अब यस्तो योजना बनाउँछु कि यत्रो गुन्डागिरी गरेरपनि जेल नपरेको बब्लु जेल जान परोस् ।

योजना अनुरूप मैले बब्लुलाई फोन गरेर आफू राजी भएको बताएँ । ऊ गाडी लिएर मलाई लिन घरछेउमै आयो । दाइलाई चुनौति दिएरै म घरबाट निस्किएँ । बब्लुले मलाई कोहलपुर लगेर भाडाको घरमा राख्यो ।

‘तपाईंको घर कहिले लग्ने ?’ म सधैं सोध्थेँ । कोहलपुरको डेरामा बसेको महिना दिन जति भएको थियो ।

‘एउटै कुरा कति गर्छाै ? घर बनिसक्नै लागेको छ । अब १०–१५ दिन पर्ख ।’

पुरानो घरमा उसको जेठी श्रीमती बस्थिन् । ऊ बेला–बेला त्यहाँ जान्थ्यो । मैले नयाँ घरमा आत्महत्या गर्ने योजना बनाएको थिएँ । लामो सुसाइड नोट फेसबुकमा प्रकाशित गरेर आफ्नो जीवन अन्त्य गर्ने योजना थियो ।

घर सर्ने दिन नजिकिँदै थियो । एक साँझ बब्लु जेठी र छोराछोरीसँग समय बिताउने भनेर निस्किएको थियो । ऊ जहाँ गएपनि मलाई चासो थिएन । मलाई त चाँडोभन्दा चाँडो उसको घरमा आत्महत्या गर्नु थियो ।

भोलिपल्ट म घरमै थिएँ । अचानक प्रहरीहरू आएर सोधे, ‘बब्लुलाई चिन्नुहुन्छ ?’

‘किन नचिन्नु ? मेरो श्री…. हो ।’

‘हिजो राति कसैले उसको हत्या गर्‍यो… ।’

०००

त्यसपछि त सबै उलट–पलट भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close