राजनीति

ओली र प्रचण्डबीच ‘लेटर बम’ आदान–प्रदान

[mashshare]

नेकपामा पार्टी बैठक, समूहगत छलफल र कहिलेकाहीँ सार्वजनिक कार्यक्रममै एक–अर्काबीच आरोप–प्रत्यारोप सामान्य थियो । तर, पछिल्लो विवादमा शीर्ष नेताहरूबीच आरोप–प्रत्यारोप लिखित रूपमै पेस भएका छन् । सुरुमा २२ कात्तिकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्य (वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ)ले सचिवालयको बैठकको माग गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई पत्र बुझाएका थिए । पार्टी र सरकार सञ्चालनका केही प्रश्नसहित आफूलाई बुझाइएको पत्रको ओलीले २५ कात्तिकमा लिखित रूपमै जवाफ दिए । ओलीले आफूमाथि निसाना लगाएर जवाफ लेखेपछि प्रचण्डले २८ कात्तिकमा फेरि ओलीलाई जवाफी पत्र लेखेका थिए । 

तीनवटा पत्रका सवाल–जवाफ यस्ता छन्

१. पाँच नेताको सवाल : पार्टी स्थायी कमिटीले कोरोनाको बढ्दो संक्रमणबाट उत्पन्न विषम परिस्थिति, पार्टीको बृहत्तर हित एवं एकता, राष्ट्रिय महाधिवेशनको तयारीलगायत पार्टी–जीवनलाई गति प्रदान गर्ने तथा राष्ट्रियता र जनजीविकासँग सम्बन्धित कतिपय ज्वलन्त समस्याको समाधानमा सरकारका काम–कारबाही प्रभावकारी तुल्याउने निर्णय गरे पनि पार्टी र सरकारका सबै कामहरू त्यसअनुरूप निर्देशित हुन सकेनन् । कार्यान्वयन नहुनुमा प्रधानमन्त्रीसमेत रहेका केपी ओली नै जिम्मेवार हुनुहुन्छ । उहाँले पार्टी र सरकारलाई विधिसम्मत सञ्चालनको निर्णयको अवज्ञा गर्नुभएको छ ।

ओलीको जवाफ : स्थायी कमिटीले सहमतिमै दुई अध्यक्षको कार्यविभाजन गरेपछि बैठकको निर्णय कार्यान्वयनका सवालमा दर्जनौँपटक भेटवार्ताका आधारमा जुनसुकै विकल्पबाट मन्त्रिमण्डल पुनर्गठनको टुंगो लगाउन सुरुमा प्रचण्डले नै सहमति दिए, तर वरिष्ठ नेता माधव नेपालसहितलाई गलत ‘ब्रिफिङ’ मात्रै गरेनन् पछि पहिलो चरणमा नियुक्त भएका उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई हटाउनुपर्ने अडान राखे । अर्थमन्त्रीमा विष्णु पौडेलसहित तीनजनाको नाममा सहमति जनाएर प्रचण्डले अडान फेर्दै अर्थमन्त्रीबाहेक नियुक्तिमा असहमति जनाए । युवराज खतिवडा र पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई राजदूत नियुक्तिमा सहमति जनाए पनि गलत आरोप लगाइयो । 

प्रचण्डको प्रतिजवाफ : पोखरेल र बादलको निरन्तरतामा असहमति जनाएको होइन । बरु उहाँहरूसहित प्रदीप ज्ञवालीलाई निरन्तरता दिनुपर्ने मत राख्दै आएको र बादललाई एक वर्षदेखि उपप्रधानमन्त्री बनाउनुपर्ने अडान राख्दै आएको सन्दर्भमा तथ्यको र यति भयानक झुटको पर्दाले छोप्ने तपार्इंको नियतलाई मैले कसरी बुझ्ने ? अति गर्नु, अतिचार नगर्नु भन्छन् यो देख्दा त मलाई पनि भन्न मन लागेको छ, ‘एनअफ इज एनअफ’ । मैले मन्त्रिमण्डलको व्यापक पुनर्गठन गरेर जाँदा राम्रो हुने मत राख्दै आएको छु । तपाईंले आवश्यक ठानेकाहरूलाई निरन्तरता दिन नेताहरूका बीचमा समन्वय कायम गर्न पहल गर्नुको सट्टा एक–अर्काका विरुद्ध जुधाउन र चलखेल गर्न खोज्ने कुराको योभन्दा ठूलो प्रमाण अरू के हुन सक्छ ?

२. पाँच नेताको सवाल : कोभिड संकटको व्यवस्थापन, कर्णाली संकट, पर्सा घटना, भारतीय ‘रअ’ प्रमुखको नेपाल भ्रमण, पार्टीमा देखापरेको समस्या र संकटको निवारण, पार्टी एकताको रक्षा गर्दै पार्टी जीवनलाई स्वाभाविक गति दिन र सरकारलाई प्रभावकारी तथा लोकप्रिय बनाउन तत्काल पार्टी सचिवालयको बैठक राख्न प्रचण्डले जोड गर्दै आए पनि बेवास्ता गरियो । स्थायी कमिटी र सचिवालयले पटक–पटक गरेका निर्णयका विपरीत आफूखुसी सबै राजनीतिक नियुक्ति गर्न थाल्नुभएपछि स्थिति झनै गम्भीर बन्यो ।

ओलीको जवाफ : बैठक राख्ने सवालमा प्रचण्डले दुनियाँलाई ढाँटेका छन् । दुई अध्यक्षात्मक व्यवस्थालाई प्रभावकारी कार्यान्वयनका लागि स्थायी कमिटीले कार्यविभाजन ग¥यो । पछिल्लो स्थायी कमिटी बैठकपछि जारी अन्तरपार्टी निर्देशनमा अध्यक्षद्वयको परामर्शमा महासचिवले सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी बैठकको कार्यसूची तयार गरेर बोलाउने उल्लेख छ । यही अपानिमा टेकेर कार्यसूची तयार नभई बैठक बस्न मिल्दैन भनेको कुरालाई ब्रिफिङ सुन्न मन पराउने नेतालाई सचिवालय तेरो गुट हो, त्यसको बैठक नबस्ने, बसेमा पार्टी फुटाइदिन्छु भन्दै ब्रिफिङ गरियो । यस्तो मिथ्या आरोप केका लागि ? दोहो¥याएर, तेहे¥याएर भन्छु– वैधानिक व्यवस्थाअनुसार बैठक बसौँ, कार्यसूची तयार गरेर बसौँ, मर्यादित ढंगले बहस गरौँ । 

प्रचण्डको प्रतिजवाफ : दुुई अध्यक्षबीचको कार्यविभाजनको सन्दर्भमा ओलीले जहिले पनि हलो अड्काउने र गोरु चुट्ने नीति अवलम्बन गर्दै आउँदा ठूलो पीडा र अपमानबोध गराएको छ । पार्टी एकताको वेलाको समान हैसियत, आलोपालो अध्यक्षता र आलोपालो सरकारसमेत मैले तपाईंको जिद्दी र पार्टी एकताप्रतिको मेरो निष्ठाका कारण छोड्दै गएँ । तर, मैले जति त्याग ग¥यो तपाईंले त्यति नै अपमानित गर्ने काम बढाउँदै लानुभयो । अघिल्लो ४ मंसिरमा कार्यविभाजनको दुई दिन नबित्दै कार्यकारी हैसियतमाथि सार्वजनिक रूपमा चुनौती दिएर ओलीले खुल्ला अवज्ञा गरे । 

३. पाँच नेताको सवाल : कार्यकारी अध्यक्षले बैठकका लागि अनुरोध गर्दा पार्टी एकता समाप्त भयो, आ–आाफ्ना पार्टी चलाउन लागौँ भन्ने ठाडो जवाफ आयो । छलफलका लागि अस्वीकार गर्दै सचिवालय तपाईंको गुट हो, स्थायी कमिटी हुल्लडवाज कमिटी हो र केन्द्रीय कमिटी सडकछाप कमिटी हो, बैठकको के आवश्यकता भन्दै पार्टीका ती सर्वोच्च निकायलाई अपमान गरियो, सबै कमिटीमा बहुमत भए पनि मानिँदैन भनियो । कार्यकारी अध्यक्षको हैसियतले बैठक बोलायो भने त्यही दिन पार्टी फुट्यो भन्ने अभिव्यक्ति आयो ।

ओलीको जवाफ : २२ गतेको पत्रमा असहमति होइन, आरोप लगाइएको छ । पार्टी सम्हाल्ने होइन, नेता–कार्यकर्तालाई भड्काएर विग्रहमा लान खोजिएको छ । त्यो झुटो आरोप हो । यतिसम्म झुटा कुरा घोलेर कथा बुन्न सक्नुहुन्छ भन्ने सोच्न पनि सकिन्न । साढे तीन बीस उमेर कटाइसकेका सहपाठीबाट यस्तो आरोप किन र केका लागि ? कथानक आरोपलाई पुष्ट्याइँ नै गर्न खोजेको हो भने बुझाइको स्तरमै निःसन्देह शंका गर्नुपर्ने हुन्छ ।

प्रचण्डको प्रतिजवाफ : एकता–संघर्ष–रूपान्तरण र नयाँ आधारमा नयाँ एकताका लागि थोरै मात्र आत्मसमीक्षा, आत्मालोचना र त्यागको स्पिरिट देखाउनुभयो भने त्यो ठूलो कुरा हुनेछ । मेरो विचारमा यो सबैका निमित्त थोरै त्याग गर्ने पालो तपाईंको छ ।

४. पाँच नेताको सवाल : राष्ट्र तथा जनताको हित, पार्टी तथा आन्दोलनको आवश्यकता, आमकार्यकर्ता तथा शुभेच्छुकको चाहना र जनादेशलाई केन्द्रमा राख्दै पार्टीको विधि, पद्धति र निर्णयलाई सबैले पालना एवं कार्यान्वयन गर्ने गरी पार्टी एकताको रक्षा गर्नु र जनताले अहिले भोगिरहेको संकट तथा कष्टको समाधान गर्नु आजको अपरिहार्य आवश्यकता हो । त्यसका लागि तत्काल सचिवालयको र त्यसपछि आवश्यकताअनुसार अन्य केन्द्रीय निकायहरूको बैठक बस्नु अनिवार्य भएको छ । 

ओलीको जवाफ : जहिले सचिवालयको बैठकअघि समूहगत योजना नबनाई चित्त नबुझ्ने किन ? गुटगत क्रियाकलाप भनेको त्यही होइन, प्रचण्डलाई दोह¥याई–तेह¥याई भनेको छु । खुमलटारनिवासलाई गुटको हेडक्वार्टर नबनाउन आग्रह गरेको छु । समीकरणका आधारमा दबाब दिन, अंकगणितका आधारमा राजनीतिको हिसाब नगर्न बारम्बार भनेको छु । कटअफ डेटपछि पनि यस्ता गतिविधि किन ? 

प्रचण्डको प्रतिजवाफ : एउटा कार्यकारी अध्यक्षले वरिष्ठ नेताहरू एवं सचिवालयका सदस्यहरूसँग गरेको भेटघाट र सरसल्लाहलाई तपाईं गुटबन्दी ठान्नुहुन्छ । तपाईंले प्रतिष्ठानका नामबाट हुने गुटबन्दीजन्य क्रियाकलाप तत्काल रोक्ने र सचिवालयमा सल्लाह गरेर तिनका बारेमा उपयुक्त निर्णय लिने भन्ने स्थायी कमिटीको निर्देशनविपरीत तपाईंसमेतको निर्देशनमा कहीँ जिल्लास्तरीय, कहीँ प्रदेशस्तरीय भेला गरी प्रतिष्ठानका स्थानीय क्रियाकलाप अझ बढाउने र जबजका पक्षमा व्यापक अभियान चलाउन दिएको निर्देशन के हो ? अनि बालुवाटारमा विभिन्न प्रदेश र जिल्लाबाट बोलाएर रातिराति गरिने भेला–बैठकहरू गुटबन्दी होइनन् र ? अर्काको आङको जुम्रा देख्ने र आफ्नो आङको भैँसी पनि नदेख्ने भनेको यही होइन र ?

५. ओलीको सवाल : कूटनीतिक क्षेत्रमा जाने अनिच्छा रहेको युवराज खतिवडाले बताउँदा–बताउँदै संयुक्त राज्य अमेरिकाका लागि राजदूतका लागि प्रचण्डले प्रस्ताव गरेका हुन् । त्यतिकै बिदा दिन उपयुक्त नहुने भन्दै मुख्यसचिवलाई बेलायतको राजदूतमा सिफारिसमा पनि सहमति भयो । यो तथ्यले सल्लाह भएन भन्ने कसरी पुष्टि हुन्छ ?

प्रचण्डको जवाफ : राजदूत नियुक्तिका सन्दर्भमा छलफल अवश्य भएको हो, तर सबै कुरा मिलेको पनि होइन । मुख्य कुरा राजदूत नियुक्ति गर्नुअघि स्थायी कमिटीको मर्म र भावनाअनुसार एकपटक सचिवालयमा परामर्श, छलफल गरेर मात्र निर्णय गर्नुपर्दछ भन्ने मेरो भनाइमा ‘हुन्छ’ भनेर ओलीले सहमति जनाए । तर, म बालुवाटारबाट निस्किएपछि त्यसै दिनको क्याबिनेटबाट मलाई पनि थाहा नदिईकन राजदूत नियुक्ति गरियो । अहिले पत्रमा सबै कुरालाई सल्लाहले गरेको हुँ भन्नु दिउँसै रात पार्ने जाली कुरा भएन र कमरेड ?

६. ओलीको सवाल : केही दिनको कचपच, एकखाले सहमति, त्यसको दुई–चार दिनपछि फेरि उही कचपच….को शृंखलामा हामी कहिलेदेखि छौँ र कहिलेसम्म रहने ? यो तमासाबाट कमरेडहरू आजित हुनुभएको छैन ? देश, जनता र समग्र पार्टीपंक्तिले हामीबाट गरेको अपेक्षा यही हो ? 

प्रचण्डको जवाफ : पार्टी एकताको वैचारिक, राजनीतिक, संगठनात्मक र भावनात्मक आधारमाथि प्रहार गर्ने तपाईं अनि यसो नगरौँ भनेर आग्रह गर्ने म सधैँको कचकचे हुने ? यो तपाईंको दृष्टिदोषको समस्या हो भनेर किन नभन्ने ? 

७. ओलीको सवाल : क्रियाशील र क्षमतावान नयाँ पुस्ताले म त्यो पदमा बसेर सफलतापूर्वक जिम्मेवारी सम्हाल्छु भन्ने मौका नपाउने, बुढाहरू यसरी लड्ने कि नेतृत्वको दोस्रो पंक्तिले समेत भो लडाइँ–झगडा नगरिदिनुस्, मिलेर तपाईंहरू नै खानोस् भनेर झगडा मिलाउनमै हरदम व्यस्त हुनुपर्ने यस्तो षड्यन्त्रपूर्ण खेलको अभ्यास यहीँ अन्त्य गरौँ र आ–आफ्ना काममा जुटौँ । आँट गरौँ, अब आउने औपचारिक फोरमबाट नयाँलाई जिम्मेवारी सुम्पिएर पार्टी, आन्दोलन, देश र जनतालाई गुण लगाऔँ । भइसकेका र पाकाहरूले लोभ नगरी हानथाप नगरौँ, लाञ्छना र दाउपेचको फोहोरी खेल छाडौँ । ३०–३५ वर्षदेखि हातमा डाडु–पन्यु लिएर आफू र आफ्नालाई पोसिरहने, कोही भान्सामा पस्न त के हेर्नसम्म्म नपाउने परिपाटी अन्त्य गरौँ ।

प्रचण्डको जवाफ :   तपाईंले नेतृत्व परिवर्तन र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने आदर्शका कुरा पत्रमा लेख्नुभएको छ, तर व्यवहारमा भने यदि कसैले आफूलाई पदबाट हटाउन खोजेमा त्यो सचिवालय, स्थायी कमिटी वा केन्द्रीय कमिटीको बहुमतले भने पनि आफूले नमान्ने कुरा खुला रूपमा गरिरहनुभएको छ । विघटन भइसकेको पार्टीको महाधिवेशनले छानेका अध्यक्ष हुनाले मलाई कसैले हटाउन सक्दैन भन्ने अनौठो तर्क गर्नुहुन्छ । पार्टी अध्यक्ष वा प्रधानमन्त्रीबाट हटाउन खोजे कुर्सी नै भाँचिदिने चर्चा पनि आइरहन्छ, यो के हो कमरेड ? यो फेरि अर्को अध्यादेश ल्याएर पार्टी फुटाउने कुरा हो कि ? संकटकाल लगाएर जान्छु भन्ने हो कि ? सदन विघटन गर्ने कुरा हो कि ? मैले बुझ्न सकेको छैन ।

८. ओलीको सवाल : प्रचण्डले मलाई वेलावेलामा भन्ने गर्नुहुन्छ– मलाई फकाउनुस् न, म फकिने मान्छे, फकिन्छु नि । कसरी केभन्दा फकिनुहुन्छ ? मुलुकको समृद्धिका लागि, जनताको खुसियालीका लागि नेपाली कम्युनिस्ट आन्दोलनको अग्रगतिका लागि, पार्टीलाई थप सुदृढ गर्नका लागि म फकाउन तयार छु । ल मैले फेरि फकाएँ । आउनुस्, गुटबन्दी र दाउपेच छाडौँ, हाम्रो यो प्यारो पार्टीलाई एकजुट बनाऔँ ।

प्रचण्डको जवाफ : पार्टी एकताको रक्षा हुनुपर्दछ भन्ने कुरामा म आज पनि उत्तिकै दृढ छु । मैले खुला र स्पष्ट वैचारिक, राजनीतिक छलफलको तपाईंको प्रस्तावलाई स्वागत गर्नुको अर्थ पार्टी एकतालाई सुदृढ गर्ने नयाँ आधारको खोजी गर्नु नै हो । आवेगमा आएर पार्टी एकता, संविधान र परिवर्तनको प्रक्रियालाई अवरुद्ध गर्ने कुनै काम तपाईंबाट हुनेछैन भन्ने आशा र विश्वास गर्दछु । नयाँ आधारमा नयाँ एकता कायम गर्दै देश, जनता, पार्टी र आन्दोलनलाई नयाँ उचाइतिर लैजानु छ । एकता–संघर्ष–रूपान्तरण र नयाँ आधारमा नयाँ एकताका लागि थोरै मात्र आत्मसमीक्षा, आत्मालोचना र त्यागको स्पिरिट देखाउनुभयो भने त्यो ठूलो कुरा हुनेछ । मेरो विचारमा यो सबैका निमित्त थोरै त्याग गर्ने पालो तपाईंको छ । यत्ति भएमा तपाईंले पत्रको अन्तिममा भनेझैँ म सजिलै फर्किनेछु ।

९. ओलीको सवाल : आरोपित गर्न त सकिएला, बर्दिबासदेखि पर्सासम्मका घटना हेरौँ, शपथग्रहणका वेला भेला भएका आफ्नै कार्यकर्ताबीच मुठभेड गराएर, मारामारी गराएर हामीले चाहेको मनपेट मिलेको एकताबद्ध पार्टी बन्छ ? यी घटनामा कहाँ हुनुहुन्छ ? मैले भनिरहनुपर्छ ? 

प्रचण्डको जवाफ : बर्दिबास र पर्सा घटनाको उल्लेख यसरी गर्नुभएको छ कि त्यहाँ मैले नै मारामारी गराउन चाहेको हो । योभन्दा ठूलो झुट के हुन सक्छ । मुकेश चौरसियाको हत्याको विषयमा जाहेरी दर्ता गर्ने सन्दर्भमा देखिएको जात्रा सबैलाई थाहा छ । यो दोषीले झन् चर्को स्वरमा आफ्नो दोष लुकाउन खोजेको अर्थ लाग्दैन र ?

१०. ओलीको सवाल : हिजो हामी कोही जनयुद्धको बाटो हिँड्यौँ होला, कोही जबजको । तर, आज हामीले हिँडिरहेको बाटो कुन हो ? त्यसमा स्पष्ट हुनु र स्पष्टताका साथ अघि बढ्नु आवश्यक छ । वैचारिक छलफलको विषयलाई बराल्ने, विषयान्तर गर्ने र त्यसैलाई सैद्धान्तीकरण गर्ने तरिका ठीक होइन । त्यसलाई खुला छलफल गरौँ । त्यसो गर्नुअघि पार्टी एकीकरणका काम सम्पन्न गरौँ । 

प्रचण्डको जवाफ : मैले तपाईंसँग छलफलमा होस् वा कमिटीका बैठकमा सधैँ नै खुला र पारदर्शी वैचारिक, राजनीतिक र सांगठनिक छलफलको आग्रह गर्दै आएको छु । यस सन्दर्भमा तपाईंको यो लामो पत्रले अब पार्टीमा स्पष्ट र खुला वैचारिक छलफल हुनेछ र विधिसंगत ढंगले लिइने पार्टीका निर्णयहरू सबैले मानेर जाने वातावरण बन्नेछ भन्ने आशा लिएको छु । मलाई गहिरो गरी लाग्ने गरेको छ कि आज पार्टीका अगाडि देखापरेका समस्याहरूको प्रमुख र चुरो कारण वैचारिक–राजनीतिक विषयमा खुला र स्पष्ट छलफलको अभाव, कमिटीहरूको नियमित बैठक र सामूहिक निर्णय एवं व्यक्तिगत जिम्मेवारीको वैज्ञानिक मान्यताबाट विचलित हुनु हो ।nayapatrikadaily

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close