मुद्दा कमजोर पारिएको भन्दै पीडित पक्ष आन्दोलित,

हिमा गाउँपालिका– ३ मोफ्ला गाउँकी १६ वर्षीया बालिका बबिता रोकाया हत्या आरोप मुद्दा कमजोर पारिएको भन्दै पीडित पक्ष आन्दोलित भएका छन् ।
पीडित पक्ष र प्रहरी, सशस्त्र प्रहरीबीच झडप हुँदा पीडित पक्षबाट घाइते हुनेमा खाम्बा रोकाया, हरिभक्त कठायत र सुबी कठायत गम्भीर घाइते भएका छन् ।
त्यसैगरी सशस्त्र प्रहरीका उदय खत्री र राजबहादुर रावत घाइते भएका छन् भने नेपाल प्रहरीका निदेश रोकाया घाइते भएका छन् । घाइते भएकाहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला उपचार भइरहेको छ ।
प्रहरीले हरिभक्त कठायत र खाम्बा रोकायालाई नियन्त्रणमा लिएको छ भने प्रहरीले भिड नियन्त्रण तथा तितरबितर पार्नका लागि लाठी चार्ज ,अश्रुग्याससमेत प्रहार गरेको थियो ।
बालिका हत्या आरोपमा हिमा गाउँपालिका– ३ मोफ्ला गाउँका १९ वर्षीय करबहादुर भण्डारी र ३७ वर्षीय रामचन्द्र डाँगीलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान सम्वन्धी मुद्दा चलाएको छ ।
प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार १९ असोज ०७७ को राति घरबाट बेपत्ता भएकी किशोरीको १ कात्तिकमा हिमा गाउँपालिका– १ पागरपालीस्थित हिमा नदीको छेउमा शव फेला परेको थियो ।