जिप्रका सुर्खेत शुन्य सहनशीलतामा कारबाही गर्दै

सुर्खेत । प्रहरीमाथी हातपात तथा अभद्र व्यवहार गर्नेलाई शुन्य सहनशीलतामा कारबाही गर्ने गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरीमाथी हुने अभद्र व्यवहारका अपराध बढ्न थालेपछि शुन्य सहनशीलतामा कारबाही गरेको हो ।
छिटो छरितो, निश्पक्ष, विश्वासिलो सेवा प्रवाह गर्ने क्रममा नागरिक सेवामा सहभागिताको दायरालाई फराकिलो बनाउन प्रहरीले समुदायमा प्रहरी साझेदारी कार्यक्रम संचालन गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामप्रसाद खतीले जानकारी दिए । उक्त कार्यक्रममार्फत प्रहरी कार्यमा जनताको हातेमालो देशभर फैलिएको उनको भनाई छ ।
शान्ति सुरक्षा र सूचना संकलनमा खटिएका प्रहरीमाथी हुने केही अपराधिक प्रवृतिमाथी कठोर रुपमा प्रस्तुत हुनुपरेको सूचना अधिकारी खतीले जानकारी दिए ।
प्रहरीलाई अश्लिल गाली गलौज गर्ने, हातपात गर्ने, कामकारबाहीमा अवरोध पु¥याई सान्ती सुरक्षा विरुद्वको कसुर गर्ने व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।
उनका अनुसार चालुआर्थिक वर्षको साउन महिनादेखि मंगलबारसम्म ३३ जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको छ । जसमध्ये तीन जना महिला र ३० जना पुरुष रहेका छन् ।
मुलुकी अपराध संहिता २०७४ को दफा ११८ बमोजिम ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन ।’ यस्ता क्रियाकलाप गरेमा कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।
सोही बमोजिम जिप्रका सुर्खेतले पनि शुन्य सहनशीलतामा कारबाही थालेको हो ।