कारोबारसमाज

दैलेखको सामुदायिक वनमा अनियमितता

सुर्खेत । सामुदायिक वनको रकम अनियमितता गर्न खोजिएको पाइएको छ । दैलेखको आठवीस नगरपालिका–८ को सातओखल नौलो थलो सामुदायिक वन उपभोक्ता समितिले रकम अनियमितता गर्न लागेको पाइएको हो ।

उपभोक्ता समितिका अध्यक्ष भूमिगत भएपछि हाल वनको जिम्मेवारी उपाध्यक्ष लोकराज कार्कीले सम्हालेका छन् । उनले वनको पूर्जी (रुख काट्ने अनुमति) समितिको नगदी रसिदमार्फत नगरि सोझै चीट (कागजमा नोट) लेखी दिने गरेको पाइएपछि रकम अनियमितता आशंका गरिएको हो ।

मनपरि ढंगबाट रुख कटान गराउने र आफुखुशीका मान्छेलाई उपाध्यक्ष कार्कीले रुखको पूर्जी दिने गरेको स्थानीयको आरोप छ । स्थानीयका अनुसार वनमा हरियो सल्ला र सालको रुख मनोमानी रुपमा काटिदा समेत नियमन निकाय बेखबर बनेको छ भने लामोसमयदेखि वनको लेखा परीक्षण समेत भएको छैन । जसको कारण आर्थिक अनियमितता भएको आरोप लागेको हो ।

‘उपभोक्ता समितिले आफुलाई मन परेको व्यक्तीलाई पुर्जी दिने र मन लागेको दिन मिल्दैन भनेर बाहानाबाजी गर्ने गरेका छन्’ स्थानीय खेमराज उपाध्यायले भने, ‘दैनिकजसो वन फडानी हुँदा समेत नियमन गर्न खोजिएको छैन ।’

उपभोक्ताले पटक–पटक समितिको साधारणसभा गर्न माग गरेपनि सुनुवाई नगरी विगत तीन बर्षदेखि वनको साधारण सभा हुन नसकेको बताइएको छ ।

कुनैपनि भेला नगराएर उपभोक्ताको किर्ते हस्ताक्षर गराएर, ईलाका वनका कर्मचारीसँग वन समिति मिलेर रकम हिनामिना गर्नेगरेको आरोप लगाइएको छ ।

उपभोक्ता समितिका उपाध्यक्ष लोकराज कार्कीद्धारा हस्ताक्षर गरिएको बिना छापको चीटमा लेखिएको छ, ‘डोजरले उखेलेको रुख स्थानीय मनबहादुर सिजापतीको घरको छाना बनाउनका लागि पुर्जी रकम ६ सय लिई यो पुर्जी दिईएको छ ।’

वनका अध्यक्ष बिनानै उपाध्यक्षले मनोमानी रुपमा पुर्जी काट्ने, मन परेकाहरुलाई काठ् दिने, सचिवको हस्ताक्षर बिनानै किर्ते हस्ताक्षर गरेर काम चलाउ गर्ने काम भएको स्थानीयको आरोप छ ।

वनका सचिव सिता उपाध्यायले उपाध्यक्ष कार्की, कोषाध्यक्ष मुक्ती उपाध्याय, कृपाराम उपाध्याय लगायतले मनोमानी गरिरहेको बताईन् ।
‘वनका कुनै पनि गतिविधिमा आफुलाई संलग्न गराईएको छैन् । मलाई सचिव भनेर मात्र बनाईयो । तर, मेरो किर्ते हस्ताक्षर गरेर रकम निकाल्छन् । नत कुनै काम गर्दा म सँग सरोकार नै राखिन्छ’ उनले भनिन् ।

उनका अनुसार केही समय अघि दलित समुदायका नाउँमा पाँच सय बुटा अम्लिसो वृक्षारोपण गर्न २० हजार रुपैयाँ दिने निर्णय भएको थियो । तर, ५० बुटा जति रोपण गरि रकम निकासा गरेर रकम हिनामिता गरिएको थियो । काम गरेका मजदुरले समेत पैसा नपाएको उनले बताईन् ।

उपाध्यक्ष कार्की भने, गल्ति गरेको स्विकार गर्छन् । उनी भन्छन् ,‘मबाट गल्ति भएकै हो । म त्यो पुर्जी बनाएवापत के सजाय हुन्छ भोग्न तयार छु ।’

उनले किर्ते हस्ताक्षर लगायतका अन्य आरोप स्वीकारेका छैनन् । २ बर्ष देखि बैंैक खाता रोक्का भएको उनले जानकारी दिए ।
जिल्ला वन कार्यालयका प्रमुख मुनबहादुर रावतले लेखापरीक्षण बिनानै वनका गतिविधि सञ्चालन गरेको पाईएमा तूरुन्त कारबाही गरिने बताए ।

‘मैलेपनि केही दिन त्यो पुर्जीको नमुना फेसबुकमा देखेको थिए, त्यसपछि सम्पर्क गरेर सबै विवरण ल्यायर जिल्ला वन कार्यालयमा बुझाउन भनेको छु’ उनले भने । दुल्लुखबरबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close