प्रदेश

डीपीआरबिनै शिलान्यास !

[mashshare]
  •  सीता वली

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिनै स्थानीय तहहरुमा अस्पतालहरु शिलान्यास गरिएका छन् । मंसिर १५ गते देशैभरका ३९६ स्थानमा एकैसाथ अस्पतालहरुको शिलान्यास गरिएको थियो । कर्णाली प्रदेशका ४२ स्थानीय तहमा समेत अस्पतालहरुको शिलान्यास भइसकेको छ । तर, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भने तयार गरिएको छैन ।

आठबिसकोट नगरपालिका रुकुमपश्चिममा समेत १५ शय्याको अस्पताल स्तरोन्नतिको लागि नगरप्रमुख गोरखबहादुर केसीले शिलान्यास गरिसकेका छन् । आठबिसकोट नगरपालिका–९ मा अस्पताल निर्माणका लागि शिलान्यास भए पनि डीपीआर भने तयार गरिएको छैन । ईन्जिनियर राजेश गौतमले सबै स्थानीय तहहरुमा डीपीआरबिनै शिलान्यास गरिएको सुनाए । ‘आठबिसकोटमा पहिले नै अस्पताल निर्माणका लागि काम हुँदैछ,’ उनले भने, ‘यसैलाई १५ शय्याको निर्माण गर्नको लागि अर्को डीपीआर निर्माण गर्दैछौं ।’

चौकुने गाउँपालिका सुर्खेतमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले मंसिर १३ गते १५ शय्याको अस्पताल वडा नं ४ बिजौरामा निर्माणका लागि शिलान्यास गरे । तर, उक्त अस्पतालको समेत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छैन । गाउँपालिकाका निमित्त प्रशासकीय प्रमुख टेकेन्द्रबहादुर बुढाले डीपीआर निर्माणका लागि काम अगाडि बढाउने तयारी भएको जानकारी दिए । ‘डीपीआर निर्माण गरेपछि मात्रै शिलान्यास गर्दा सहज हुन्छ,’ उनले भने, ‘तर, सबै स्थानीय तहमा यस्तै छ । कसैले पनि डीपीआर गरेका छैनन् ।’

गुराँस गाउँपालिका दैलेखमा सांसद पार्वती विसुन्केले मंसिर १५ गते १५ शय्याको अस्पताल निर्माणका लागि सिलान्यास गरिन् । वडा नं ४ रतिखोलामा अस्पताल निर्माण गर्ने भनिए पनि डीपीआर निर्माण भने भएको छैन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दराम चौलागाईंले शिलान्यास भएकै जमिनमा पछि भवन निर्माण गर्ने तयारी भएकोले डीपीआर नभए पनि फरक नपर्ने बताए । ‘सबै प्रक्रिया पूरा गरेरै काम अगाडि बढ्छ,’ उनले भने, ‘हामीहरु डीपीआर निर्माणको अन्तिम तयारीमा छौं ।’

सामान्य तया कुन स्थानमा, कति लागतमा, कस्तो खालको कार्य गर्ने र कहिलेसम्म गरिसक्ने भन्ने हेतूले सम्पूर्ण प्राविधिक विधि पूरा गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गर्ने गरिन्छ । तर, नेपाल सरकारले देशै भरका स्थानीय तहहरुमा आधारभूत अस्पतालहरु निर्माण गर्ने र स्तरोन्नति गर्ने गरी शिलान्यास गरे पनि डीपीआर भने निर्माण गरिएको छैन । डीपीआर गरेकै योजनाहरु अलपत्र परेको बेला हचुवाका भरमा अस्पतालहरु शिलान्यास गरिएका हुन् ।

गत कार्तिक २५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर ५, १० र १५ शय्याको अस्पताल निर्माणका सम्बन्धित स्थानीय तहहरुलाई लागि पत्र पठाइसकेको र अर्थ मन्त्रालयमार्फत् जग्गा प्राप्तिका लागि रकमसमेत पठाइसकेको भए पनि सम्बन्धित स्थानीय तहहरुले डीपीआर तयार नगरेका हुन् । कार्तिक २८ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव स्तरीय बैठकले देशभरका ३९६ वटा स्थानमा एकैसाथ अस्पताल भवन शिलान्यास गर्ने प्रवन्ध मिलाउन अनुरोध गरेको थियो । सोही बैठकको निर्णयबमोजिम कर्णालीका ४२ वटा स्थानीय तहमध्ये अधिकांश स्थानीय तहहरुमा अस्पताल भवन निर्माणका लागि शिलान्यास गरिएको छ । तर, कुनै पनि स्थानीय तहहरुले भवन निर्माणको लागि डीपीआर भने गरेका छैनन् ।

उता स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले डीपीआरको काम सम्बन्धित स्थानीय तहले गर्ने बताए । ‘मापदण्ड स्वास्थ्य मन्त्रालयकै हुन्छ,’ मन्त्री रावतले भने, ‘तर माटो परीक्षणदेखि सबै प्रक्रिया भने स्थानीय तहले नै पूरा गर्छन् ।’ उनले हालका जनप्रतिनिधिको कार्यकालमा अस्पताल भवन निर्माणको काम सकिने गरी काम गर्ने योजना भएको जानकारी दिए । ‘डीपीआर नगरी शिलान्यास गर्दा केही बिग्रदैन,’ ‘हामीलाई जनतालाई अस्पतालको सेवा दिन हतार छ । त्यसैले शिलान्यास गरिहाल्यौं ।’ उनले थपे ।

कर्णालीका कुन-कुन स्थानीय तहमा बन्दैछन् अस्पताल

कर्णालीका ४२ वटा स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माण हुँदैछन् । प्रदेशका १० वटै जिल्लाका ४२ वटा स्थानीय तहमा अस्पताल निर्माण हुने भएको हो । जसका लागि संघीय सरकारले ५२ करोड ७६ लाख २० हजार बजेट विनियोजन गरेको छ ।

प्रदेशको रुकुमपश्चिम जिल्लाका तीन वटा स्थानीय तह आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानी भेरी गाउँपालिकामा १५/१५ शय्याको अस्पताल निर्माण हुने भएको हो । जसको लागि संघीय सरकारले एक/एक करोड गरी तीन करोड रकम बिनियोजित गरेको छ ।
त्यस्तै सल्यान जिल्लाका आठवटा तह बनगाड कुपिण्डे नगरपालिका, कपुरकोट गाउँपालिकामा, कालिमाटी गाउँपालिका, कुमाख गाउँपालिका, सिद्धकुमाख गाउँपालिका, दार्मा गाउँपालिका, बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा अस्पताल निर्माणका लागि सरकारले जम्मा ९ करोड ७८ लाख ३० हजार बजेट विनियोजन गरेको हो । सल्यानका दुईवटा स्थानीय तह सिद्धकुमाख गाउँपालिका र बागचौर नगरपालिकामा भने १०/१० शय्याको अस्पताल निर्माण गरे पनि अन्य स्थानीय तहहरुमा भने १५/१५ शय्याको अस्पताल निर्माणका लागि सरकारले योजना बनाएको हो ।

त्यस्तै डोल्पा जिल्लाका तीनवटा स्थानीय तह त्रिपुरासुन्दरी नगरपालिका १५ शय्या, डोल्पोबुद्ध गाउँपालिका १० शय्या र मुड्केचुला गाउँपालिकामा पाँच शय्याको अस्पताल निर्माण गर्न लागिएको हो । जसका लागि सरकारले दुई करोड २८ लाख बजेट विनियोजन गरेको हो । त्यस्तै जुम्लाको तिला गाउँपालिका १० र कनकासुन्दरी गाउँपालिकामा १५ शय्याको अस्पतालका लागि सरकाले ४ करोड ८ लाख ३० लाख बजेट विनियोजन गरेको छ । त्यस्तै मुगुका दुईवटा स्थानीय तह मुगुमकार्मारोङ गाउँपालिका र सोरु गाउँपालिकामा १०/१० शय्याको अस्पताल निर्माणका लागि एक करोड ७० लाख बजेट संघीय सरकारले विनियोजन गरेको हो ।

हुम्लाका चारवटा स्थानीय तह अदानुचली गाउँपालिका, नाम्खा गाउँपालिका र सर्केगाढ गाउँपालिकामा १५÷१५ र ताजाकोट गाउँपालिका १० शय्याको स्वास्थ्य चौकी निर्माण हुने भएका हुन् । जसका लागि संघीय सरकारले तीन करोड ८५ लाख रकम विनियोजन गरेको छ । त्यस्तै कालिकोटका रास्कोट नगरपालिकामा र नरहरीनाथ गाउँपालिकामा १५÷१५ शय्याको अस्पताल निर्माणका लागि ४ करोड २३ लाख ३० हजार बजेट सरकारले विनियोजन गरेको छ । त्यस्तै जाजरकोटका चारवटा स्थानीय तह छेडागाड नगरपालिका, नलगाड नगरपालिका, बारेकोट नगरपालिकामा १५/१५ शय्या र शिवालय गाउँपालिकामा १० शय्याको अस्पताल निर्माण हुने भएको हो । जसका लागि तीन करोड ८५ लाख बजेट विनियोजन गरेको हो ।

त्यस्तै दैलेखका ७ वटा स्थानीय तह नौमुले गाउँपालिका, चामुण्डा–बिन्द्रासैनी नगरपालिका, गुराँस गाउँपालिका, आठबिस नगरपालिका र ठाँटीकाँध गाउँपालिका, भैरवी गाउँपालिकामा १५/१५ र महाबु गाउँपालिकामा १० शय्या अस्पताल निर्माण हुने भएका हुन् । जसका लागि सरकारले ९ करोड ९६ लाख ३० हजार बजेट विनियोजन गरेको हो ।

त्यस्तै सुर्खेतका सातवटा स्थानीय तह पञ्चपुरी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका, चिङ्गगाड गाउँपालिका, चौकुने गाउँपालिका, बराहताल गाउँपालिका, सिम्ता गाउँपालिका र लेकवेशी नगरपालिकामा अस्पताल निर्माण हुने भएको हो । जसका लागि सरकारले १० करोड दुई लाख बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेशमा संघीय सरकारले आधारभूत अस्पताल निर्माण तथा अस्पताल स्तरोन्नतिका लागि ४२ वटा स्थानीय तहमा ५२ करोड ७६ लाख २० हजार बजेट संघीय सरकारले विनियोजन गरेको हो । Newskarobar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close